
राज्यको पुनःसंरचनापछि पहिलोचोटी स्थानीय तहको निर्वाचन हुन लागेका कारण मतदानमा सहभागी हुँदा अपनाउनुपर्ने प्रक्रियाबारे मतदाता शिक्षाबारे कार्यकर्तालाई तालिम दिइनेछ ।
निर्वाचन आयोगले देशका ७५ जिल्लामा एकैसाथ यो तालिम सुरु गरेको हो । मतदाता शिक्षा स्वयंसेवकले तालिमपछि एक करोड ४० लाख ५४ हजार ४८२ मतदातालाई मतदाता शिक्षा सिकाउनुपर्ने जिम्मेवारी छ ।
गत संविधानसभाको तुलनामा यसपटक १९ लाख २१ ह्जार ८४९ मतदाता थपिएका छन् ।
एउटा मतदाता शिक्षा कार्यकर्ताले हरेक दिन २२ मतदाताका दरले एक महिनामा ६७० मतदातालाई भोट खसाल्ने तरिकाबारे घरघरमा पुगेर व्यावहारिकरुपमा शिक्षा दिनेछन् ।
मतपत्र ६ आकारका छन् । यसपटक एउटा मतदाताले अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यसहित सातजनालाई भोट खसाल्नुपर्नेछ ।
दलगतरुपमा भएका निर्वाचन चिह्न तेर्सो एकै लाइनमा रहेको हुन्छ । स्वतन्त्र उम्मेदवारले भने स्वतन्त्र समूहबाट आयोगले तोकेको चिह्न पाउँछन् ।
आयोगले जिल्लामा दर्ता भएको दलको आधारमा मतपत्रमा चिह्नहरु समावेश गरेको हो । काठमाडौंमा सबैभन्दा धेरै ४७ र मनाङमा सबैभन्दा थोरै ६ दल स्थानीय तह निर्वाचनमा दर्ता भएका छन् ।
देशभर करिब २१ हजार मतदान केन्द्र छन् । राज्य पुनःसंरचनापछि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७४४ स्थानीय तह निर्धारण गरिएको छ ।
आयोगले सोमबार ७५ मुख्य निर्वाचन अधिकृत र ६६९ निर्वाचन अधिकृत नियुक्त गरेको छ । चैत २६ गतेसम्म ७५ जिल्लाकै मतदाता शिक्षा कार्यकर्तालाई तालिम प्रदान गरेर कार्यक्षेत्रमा खटाउने तयारी छ ।
काठमाडौंस्थित क्षेत्रीय निर्वाचन कार्यालयले मंगलबारबाट ७५० मतदाता शिक्षा कार्यकर्ता तथा स्वयंसेवकलाई रत्नराज्य उच्च माध्यमिक विद्यालयमा मतदाता शिक्षा तालिम दिएको छ ।
तालिम शुभारम्भ गर्दै आयोगका सचिव गोपीनाथ मैनालीले ‘उम्मेदवार धेरै र मतपत्र पनि ठूलो हुने भएकाले एउटा मतदाताले एउटै मतपत्रबाट सातजना उम्मेदवारलाई मतदान गर्न सिकाउनुपर्छ’–भने ।
आयोगका सहसचिव नवराज ढकालले संविधान र कानुनले स्थानीय तहमा ४० प्रतिशत महिला निर्वाचित हुने सुनिश्चित गरेको बताए ।
यसपटक गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाको प्रमुख/उपप्रमुखमध्ये दलहरुले एकजना महिला उम्मेदवार उठाउनुपर्नेछ । वडामा एक दलितसहित दुई महिला निर्वाचित हुनेछन् ।
पहिलो चरणको प्रशिक्षण कार्यक्रममा २५० जना सहभागी छन् । सहभागीमध्ये झन्डै ९५ प्रतिशत महिला रहेको जानकारी क्षेत्रीय निर्वाचन अधिकारी चन्द्रप्रसाद गौतमले दिए ।
तीन चरणमा गरिने प्रशिक्षणमा ७५० जनालाई प्रशिक्षण दिइनेछ । रासस
प्रतिक्रिया दिनुहोस्