
विगतमा अश्वासन बाँड्ने नेताले यो अवधिमा उपमहानगरवासीको समस्यामा ध्यान नदिएको भन्दै सर्वसाधारणले आउने चुनावमा उपमहानगरका प्रमुख समस्या समाधानमा पहल गर्ने र जनताको दुःखमा साथ दिने जनप्रिय उम्मेदवारलाई मतदान गर्ने बताएका हुन् ।
‘चुनावकाबेला भोट माग्न आउदा नेता विभिन्न अश्वासन दिन्छन्, चुनावको परिणामपछि फर्केर आउँदैनन्’–स्थानीय मतदाता तीर्थराज ओझाले भने–‘अब त्यस्ता नेतालाई मतदान गर्ने मुडमा जनता छैनन् ।’
भेद्भावको सोच राखेर काम गर्ने, दादागिरी र गुन्डादर्गी शैलीको व्यवहार देखाउनेलाई आफूहरुको सहयोग नरहने अर्का मतदाता ताहिर अन्सारीको भनाइ छ ।
वि.सं. २०३० मा नगरपालिका बनेको धनगढीलाई दुई वर्षअघिमात्र कैलालीको साविक फूलबारी गाविस र उर्मा गाविसलाई समेटेर उपमहानगरपालिका घोषणा भएको थियो ।
१९ ओटा वडामा विभाजन भएको एक लाख ४७ हजार ७४१ जनसंख्या रहेको यो उपमहानगरकाका अधिकांश वडामा अझैसम्म सडक, खानेपानीलागायतका आधारभूत सुविधा पुग्नसकेको छैन ।
उपमहानगर क्षेत्रमा वर्षायाममा डुबानका साथै मोहना नदीको कटान, बजार क्षेत्रको साँघुरिएको सडक, ढल निकास, फोहरको व्यवस्थापनलगायतका प्रमुख समस्या यथावत् छन् ।
यसबाहेक दशकौंदेखि ऐलानी जग्गामा बसेका हजारौंं संख्याका गरिब परिवारको जग्गा दर्ता हुन सकेको छैन भने कतिपय पूर्वकमैया परिवारको उचित पुनःस्थापन नहुनु अर्को ठूलो समस्या बनेको छ ।
बढ्दो सहरीकरणसँगै यो उपमहानगरका समस्या र चुनौती पनि बर्सेनि बढ्दै गएका छन् ।
वि.सं. २०४६ को परिवर्तनपछि दुईपटक भएको साविकको धनगढी नगरपालिकाको प्रमुख–उपप्रमुखको निर्वाचनमा पहिलोपटक नेपाली कांग्रेस र दोस्रोपटक नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।
पछिल्लोपटक भएको दोस्रो संविधानसभाको चुनावमा कैलाली क्षेत्र नम्बर–६ मा रहेको धनगढी क्षेत्रबाट ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मत अन्तरले विजयी भएका थिए ।
देउवा विजयी भएको निर्वाचन क्षेत्र भएकाले पनि धनगढी उपमहानगरको प्रमुख–उपप्रमुख पद हत्याउन प्रमुख दलको प्रतिष्ठाको विषय बन्नसक्ने विश्लेषण गर्न थालिएको छ ।
विगतमा भएका चुनावी मतपरिणामलाई हेर्दा अब हुन लागेको धनगढी उपमहानगरको चुनावको प्रमुख–उपप्रमुखलगायतका पदमा कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
उपमहानगरको प्रमुख पदका लागि नेताहरुको दौडधुप तीव्र
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा उपमहानगरको प्रमुख पदका आकांक्षीले भित्रभित्रै आफ्नो दौडधुप तीव्र पारेका छन् ।
प्रदेश नम्बर–७ को एकमात्र उपमहानगरपालिका प्रमुख व्यापारिक केन्द्र रहेकोले पनि धनगढी उपमहानगरपालिकाको चुनावलाई सबै दलले बढी महत्व दिएका हुन् ।
योसँगै उपमहानगरको प्रमुख–उप्रमुखलगायतका पदका लागि आकांक्षी बढेकोमात्र नभइ उनीहरुको दौडधुप पनि तीव्र बनेको देखिन्छ ।
उपमहानगरको प्रमुख पदका लागि आकांक्षी देखिएका कांग्रेसका युवा नेता कृष्णबहादुर महरा, नगर सभापति नृप ओड र क्षेत्रीय सभापति हरिश खड्कालगायतले भित्रभित्रै आफ्नो तयारीलाई तीव्र पारेका छन् ।
कांग्रेसका जिल्ला सभापति नरनारायण शाह ‘मनु’ले पनि उपमहानगरको प्रमुखमा टिकट पाउनसक्ने एकथरिको विश्लेषण छ ।
नेकपा एमालेको तर्फबाट भने पूर्वसभासद नारदमुनी राना, दुर्गाप्रसाद जोशी, रणबहादुर चन्द, नन्दलाल जोशी, दीपकप्रसाद देवकोटा, यज्ञराज बाँस्तोलाको नाम बढी चर्चामा छ ।
उपमहानगरको प्रमुखमा आफूले टिकट पाएमा विजयी हुने दाबीसहित यी नेताले दौडधूप तीव्र पारेको बताइन्छ ।
नेकपा मओवादी केन्द्रको तर्फबाट उपमहानगरको प्रमुखमा आकांक्षी रहेका पार्टीका नगर अध्यक्ष निर्मल शाह, रामसमझ राना, राधाकृष्ण अधिकारीले टिकटका लागि पार्टीका नेता समक्ष ‘लबिङ‘ गरिरहेको चर्चा छ ।
राप्रपाले राजेश भण्डारी, रोम स्वाँर, जनककुमारी कुँवर, पुष्करदत्त भट्टमध्ये एकजनालाई टिकट दिनसक्ने चर्चासँगै टिकट हत्याउने रणनीतिमा यी आकांक्षी लागिसकेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य र कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपाल हमाल पनि स्वतन्त्ररुपमा उम्मेदवारी दिने तयारीमा रहेको कुरा सार्वजनिक भएको छ ।
सुन्दर सुदूरपश्चिमका अभियान्तासमेत रहेका हमालले उपमहानगरको प्रमुखमा उम्मेदवारी दिएमा कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका मतदाता प्रभावित हुने भएकाले पनि कसको पक्षमा परिणाम पुग्छ भनेर आँकलन गर्न कठिन हुने एकाथरिको विश्लेषण छ ।
प्रमुखका आकांक्षीको दौडधूप तीव्र भएसँगै आ–आफ्नो जनमत बुझ्न यतिबेला आकांक्षी उपमहानगरका टोलटोलमा पुगेर आफ्नो पक्षको जनमत बुझ्नमा व्यस्त छन् ।
प्रतिक्रिया दिनुहोस्