२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


विराटनगरमा पूर्वमन्त्रीदेखि सभासदसम्म आकांक्षी, माओवादीले उम्मेदवार छान्यो


0
Shares

अबको ४० दिनपछि हुने स्थानीय तहको निर्वाचनका लागि विराटनगर उपमहानगरपालिकाको मेयर, उपमेयर र वडा तहसम्मको प्रतिनिधि चयनमा दलहरु जुटिसकेका छन ।

निर्वाचनको मिति जति नजिकिँदै छ, मेयर एवं उपमेयरका आकांक्षी धेरै हुँदा उम्मेदवार छनोट गर्न दलहरुलाई उत्तिकै सकस पनि देखिएको छ ।

करिब दुई दशकपछि चुनाव हुन लागेकाले पनि स्थानीयस्तरमा नेतृत्व लिनचाहने आकांक्षीहरुको लर्को बढेको हो ।

१ लाख ६४ हजार १ सय ७६ मतदाता रहेको विराटनगर उपमहानगरपालिकामा पनि मेयर र उपमेयर बन्ने होडमा पूर्वमन्त्रीदेखि सभासदसम्म आकांक्षी देखिएका छन् ।

निर्वाचनमा मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

दलका जिल्ला तहका पार्टी नेतृत्व पनि उपनगरपालिकाको मेयर र उपमेयर उम्मेदवार बनाउने गृहकार्यमा जुटेका छन् ।

जिल्लाकै आकर्षण मानिएको एकमात्रै उपमहानगरपालिका विराटनगरको मेयर र उपमेयरमा तीनै दलबाट धेरै आकांक्षी देखिएका छन् । यद्यपि, माओवादी केन्द्रले भने मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाइसकेको छ ।

विराटनगर उपमहानगरपालिकाको मेयर, उपमेयरको उम्मेदवार टुंगो लगाउनेमा माओवादी केन्द्र पहिलो दल बनेको छ । माओवादी केन्द्रले भोगेन्द्र यादवलाई मेयर र नमिता न्यौपानेलाई उपमेयरका लागि अघि सारेको छ ।

नेपाली कांगे्रसका नेताहरु विराटनगरलाई आफ्नो दलको प्रभाव क्षेत्र दाबी गर्दछन् । तर, सोही दलले ०५४ सालको स्थानीय निकायको निर्वाचनमा भने साख जोगाउन सकेन । जहाँ एमाले मेयर र उपमेयर दुबै पदमा विजयी बनेको थियो । एमालेका रमेश पौडेलसँग कांग्रेसका मेयरका उम्मेदवार अमृत अर्याल पराजित बनेका थिए । उपमयेरमा कांग्रेसका उपेन्द्रकान्त लाल एमालेका भूराज राईसँग पराजित भए ।

विगतको गुमेको साख जोगाउने धुनमा कांग्रेस रहँदा एमाले पहिलेको अवस्था गुम्न नदिने दाउमा छ । त्यसैका लागि पनि दलहरुमा उपयुक्त उम्मेदवार छनोटको दबाब देखिन्छ ।

यद्यपि, नेताहरुको स्वार्थमा मेयर र उपमेयरको उम्मेदवार छानिए त्यसको असर चुनावी परिणाममा पर्नसक्नेमा उनीहरु सतर्क देखिनुपर्ने छ ।

कांग्रेसबाट मोरङ कांग्रेसका सचिव नागेश कोइराला, नगर सभापति भीम पराजुली, फूलकुमार लालवानी, विश्वनाथ रिजालको नाम मेयरकारुपमा चर्चामा आएको छ भने एमालेमा पूर्वमन्त्रीदेखि पूर्वसभासदसम्मको नाम चर्चामा छ ।

पूर्वमन्त्री लालबाबु पण्डित, पूर्वसभासद यशोदा अधिकारीको नाम पनि मेयरका लागि सुन्न थालिएको छ । मेयर र उपमेयरमा आकांक्षी बढेपछि त्यसलाई मिलाउनुपर्ने चुनौती देखिएको छ ।

वैशाख १२ गतेसम्म सबै दलले स्थानीय चुनावका लागि आफनो प्रतिनिधिको नाम टुंग्याउनुपर्नेछ । त्यसैले उनीहरुको पहिलो ध्यान उम्मेदवार छनोटमा पुगेको देखिन्छ ।