स्विडेनको टेलिया सोनेराले एक्जियटालाई एनसेल बिक्री गर्ने क्रममा ३३ अर्ब लाभकर नतिरेको र दाहाल सरकारले उक्त लाभकर छुट दिएको आरोप लागिरहेको बेला प्रधानमन्त्री दाहालले यस्तो दाबी गरेका हुन् ।
आइतबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदमा मौखिक रुपमा मात्रै छलफल भएको र क्रेताबाट नभई बिक्रेताबाट लाभकर उठाउन प्रयासमात्र भईरहेको दाबी गरे ।
प्रधानमन्त्री दाहालले लामो समयदेखि उठाउन नसकेको कर उठाउन आफूले सम्वन्धित निकायलाई निर्देशन दिनुका साथै के कारणले कर उठाइएन त्यसको समेत छानविन सुरु भइसकेको बताए ।
उनले लाभकर चुक्ता नगरी कम्पनी किनबेच भएकोबारे अध्ययन तथा छानविन गर्न समिति बनाउने र क्रेता तथा बिक्रेता दुबैलाई राखेर लाभकर कसले तिर्ने भन्ने विषयमा छलफल गरी निष्कर्षमा पुग्ने पनि बताए ।
‘विक्रेता पनि यही धर्तीमा छ, मित्रराष्ट्रकै कम्पनी हो भने उसलाई ल्याउनु हुँदैन भन्ने छैन,’ उनले भने, ‘राज्यले छिटोभन्दा छिटो कर उठाएर यो विषय टुंग्याउन चाहन्छ ।’
प्रधानमन्त्रीले एनसेल खरिदविक्री प्रकरणमा विक्रेतालाई लाभकर नलिइकन उम्काउने र समयमै कर नउठाउनेलाई छानविन गरी कारवाही गरिने समेत बताए ।









प्रतिक्रिया दिनुहोस्