नेपालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन अथिति देवो भवः भन्दै आइतबारबाट नमस्ते अभियान सुरू गरिएको हो ।
विश्व शान्तिको मुहान बुद्ध जन्मस्थल लुम्बिनीबाट अभियानको सुरूआत गरिएको छ । अभियानको सुरुवातमा लुम्बिनीको महिलवार गेटबाट र्यालीसमेत निकालिएको थियो ।
अभियानअन्तर्गत सन् २०१८ सम्म १५ लाख वार्षिक पर्यटक भित्र्याउने योजना रहेको एनआरएनएका सदस्य प्रमोद ढकालले बताए ।
अभियानअन्तर्गत विदेशमा रहने एक जना नेपालीले तीनजना विदेशी पर्यटक नेपाल पठाउने अभियान एनआरएनले चलाउनेछ । अभियानले विभिन्न देशमा बुद्ध वाज बर्न इन नेपाल, नेपाल डे लगायत कार्यक्रमहरू गर्ने योजना रहेको समेत जनाएको छ ।
एनआरएनएले नमस्ते अभियानअन्तर्गत पर्यटक भित्र्याउन अतिथि देवो भवः लेखिएको लोगो समेत अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्दै आएको छ । संघका ७५ राष्ट्रमा रहेका शाखामार्फत् लोगोलाई बजारीकरण गरिँदै छ ।
पर्यटक आगमन बढाउन पर्यटन बोर्डले नेपालमा स्वागत र सम्मानको कार्यक्रम गर्ने बोर्डका वरिष्ठ अधिकृत प्रदीप बस्नेतले बताए ।
पर्यटकको भिसा नवीकरणलाई सहज बनाउने, लुम्बिनी क्षेत्रमा नेपाली गाइडलाई प्राथमिकता दिनेजस्ता योजनाहरू बोर्डको रहेको अधिकृत बस्नेतले बताए ।
लोगोमा गरिने विद्युतीय सेन्सरले लोगो लगाएर नेपाल आउने पर्यटकको विमानस्थलदेखि होटल र ट्याक्सीमा समेत ट्रयाक गरिने योजना छ । तर, यसो गर्दा पर्यटकको प्राइभेसी पूर्ण रूपले सुरक्षित राखिने बस्नेतले जानकारी दिए ।
लोगोमार्फत् नेपालको पर्यटन सुरक्षित छ भन्ने सन्देश दिन खोजिएको उनी बताउँछन् ।
लुम्बिनीमा पर्यटक आगमन वृद्धि भए पनि बसाइ लम्बिन सकेको छैन । बसाइ लम्ब्याउनका लागि विकास कोषले काम गर्नुपर्ने सरोकारवालाको जोड छ ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले लुम्बिनीलाई आकर्षक बनाउन र पर्यटकको बसाइ बढाउन सांस्कृतिक कार्यक्रम गर्नुपर्ने बताए ।
लुम्बिनी विकास कोषका सांस्कृतिक सल्लाहकार भिक्षु मैत्रेयले राजदूतावासबाट प्रचारात्मक कार्यक्रम गर्ने हो भने धेरै पर्यटक नेपाल ल्याउन सकिने बताए । उनले भारतमा लुम्बिनी बनाइँदैछ भन्ने कुराको प्रचार नेपालीले गर्न आवश्यक नभएको र चिन्ता लिन पनि नपर्ने बताए ।
‘हाम्रा पाहुनालाई नमस्तेले स्वागत गरौं’ भन्ने नारा दिइएको अभियान लुम्बिनीसँगै काठमाडौं, पोखरा र चितवनमा पनि एकैसाथ शुरू गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्