
मुख्य राजनीतिक दलले उम्मेदवारको औपचारिक घोषणा नगरे पनि आकांक्षीहरुको भने लर्काे देखिएको छ ।
२० वर्षपछाडि हुनलागेको स्थानीय तहको निर्वाचनले उम्मेदवारको आकांक्षा गर्नेहरुको संख्या चुलिनु नौलो भने रहेन । पूर्वी उत्तरी मोरङमा बहुदल कालयताका दुईओटा स्थानीय निर्वाचनमा नेकपा एमालेको वर्चश्व रहँदै आएको छ ।
वि.सं. २०४९ भएको निर्वाचन र २०५४ को स्थानीय निकायको निर्वाचनमा मोरङको पूर्वपश्चिम राजमार्ग आसपास र पहाडी भू–भागका सबै गाविस एमालेको पकड रहेपनि दुई दशकपछि हुन लागेको आगामी निर्वाचनमा त्योबेलाको मतमा फेरबदल हुने अनुमान अन्य राजनीतिक दलमा छ ।
स्वतन्त्र मतदाताले भने स्थानीय तहको निर्वाचनमा पार्टीभन्दा पनि व्यक्ति हेर्ने भएकाले कुन दल र कुन व्यक्तिले जित्छ भन्ने भेउ पाउन मतपरिणाम नै कुर्नुपर्ने चर्चा छ ।
सुदूरपूर्वी मोरङको घनाबस्ती भएको उर्लाबारी नगरपालिकामा विगतका दुईओटै स्थानीय निकायको निर्वाचनमा एमालेले जित हात पारेको थियो ।
वि.सं. २०४९ मा दुईओटा वडामा पराजय भएको एमालेले २०५४ सालमा आइपुग्दा सिंगो गाविसभरि ४७ ओटै पदमा विजयी भएर ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।
त्योबेला उर्लाबारीबाहेक शनिश्चरे र इन्द्रपुर गाविसका पनि सबै पदमा एमाले विजयी भएको थियो ।
मोरङका कुल ६५ गाविसमध्ये ४६ गाविसमा अध्यक्ष, उपाध्यक्षसहित बहुमत सदस्यमा जित हात पारेको एमालेले विराटनगर उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पदसमेत आफ्नै दलको पोल्टामा पारेको थियो ।
के गर्दैछन् पूर्वप्रतिनिधि ?
दुईपटक मधुमल्ला गाविसका अध्यक्ष भएका काशीनाथ पौडेल यतिबेला राजनीतिमा निस्क्रिय छन् । मधुमल्लाबाटै पलायन भएर उनी दमकमा घर–गृहस्थी जीवन व्यतित गरिरहेका छन् ।
पूर्वी मोरङका बयरवन, उर्लाबारी, हसन्दह र केराबारीका गाविस अध्यक्ष क्रमशः काशीनाथ दाहाल, घनेन्द्र जिमी, माधव खतिवडा र नारायण थापा मगरको भने निधन भइसकेको छ ।
यस्तै, इटहरा गाविसमा दुई कार्यकाल गाविस अध्यक्ष भएका रामकुमार राई एमाले पार्टी राजनीतिबाट निस्क्रिय भएर व्यापार–व्यवसायमा लागेका छन् ।
दुई कार्यकाल नै गाविस अध्यक्ष भएका सिजुवाका गन्जबहादुर राई र राजघाटका चन्द्र थेवे एमालेको स्थानीय राजनीतिमा रहेपनि हाल नगरप्रमुखको दौडमा भने छैनन् ।
तर, पथरीका मोहन तुम्वापो (२०५४) र तिलक वान्तवा (२०४९), शनिश्चरेमा दुई कार्यकाल अध्यक्ष भएका मोहन न्यौपाने भने हालको पथरी–शनिश्चरे नगरपालिकाको प्रमुखका लागि धाइरहेका छन् ।
यस्तै, जाँतेमा दुई कार्यकाल अध्यक्ष जितेका उपेन्द्र घिमिरे लेटाङ नगरपालिकाको प्रमुख हुने दौडमा छन् । लेटाङमा क्रमशः गाविस अध्यक्ष बनेका घनश्याम खतिवडा र चन्द्रप्रसाद गौतम भने नगर प्रमुखको दाबेदार हुने दौडमा देखिएका छैनन् ।
रमितेखोला, भोगटेनी, वारंगी, याङ्शिला, गाउँका पूर्वगाविस अध्यक्ष पनि योबेला आ–आफ्नो गाउँपालिकाको नेतृत्व सम्हाल्ने होडमा देखिएका छैनन् ।
उता, तत्कालीन इन्द्रपुर गाविसमा दुई कार्यकाल अध्यक्ष भएका चन्द्रबहादुर गुरुङ हाल मोरङ क्षेत्र नम्बर–८ का निर्वाचित सांसद हुन् भने गुरुङको गृहक्षेत्रअन्तर्गत् रहेको सुन्दरहरैचा नगरपालिकामा भने तत्कालीन दुलारी गाविसका अध्यक्ष अर्जुन अधिकारी नगर प्रमुखको आंकाक्षी छन् ।
तत्कालीन सुन्दरपुरका गाविस अध्यक्ष कृष्णप्रसाद दाहाल सामाजिक कार्यकर्ताकारुपमामात्रै केन्द्रित छन् भने हरैचाका गाविस अध्यक्ष विनोद बस्नेत एमालेको जिल्ला राजनीतिमा रहेका छन् ।
बेलबारीका गाविस अध्यक्ष शिव बराल, डाँगीहाटका गाविस अध्यक्ष पीपी थापामगर, केरौनका भेषनाथ रिजाल, बयरवनकै पूर्वगाविसका अध्यक्ष ताराबहादुर काफ्लेलगायत पनि उम्मेदवार हुने दौडमा देखिएका छैनन् । रासस
प्रतिक्रिया दिनुहोस्