Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


वाट्फोर्ड र वेष्ट ह्याम युनाईटेड विजयी


0
Shares

काठमाडौं, फागुन ११ । इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्ड र वेष्ट ह्याम युनाईटेड विजयी भएका छन् ।

गएराति भएको खेलमा वाट्फोर्डले कार्डिफ सिटीलाई उसैको मैदानमा ५–१ ले हरायो । खेलमा वाट्फोर्डलाई विजयी गराउन जेरार्ड डेलोफुले ह्याट्रिक गर्दा ट्रोए डिनीले दुई गोल गरे । कार्डिफका सोल बाम्बाले एक सान्तोना गोल फर्काए ।

गएराति नै भएको अर्को खेलमा वेष्टह्याम युनाईटेडले फुल्हमलाई ३–१ ले हरायो । वेष्टह्यामको जितमा चिचारिटो, इसा डियोप र मिचेल एन्टोनियोको एक–एक गोल सामेल थियो । पराजित टोली फुल्हमका रायन बाबलले एक गोल फर्काए ।

गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा २७ खेलबाट ४० अंक जोडेको वाट्फोर्ड सातौं स्थानमा उक्लिएको छ भने ३६ अंक जोडेको वेष्टह्याम युनाईटेड नवौं स्थानमा छ । ६५ अंकसहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको लिभरपुल समान ६५ अंकका साथ दोस्रो स्थानमा छ ।