२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


बाग्लुङमा चुनावी रन्कोः के अपेक्षा गरिरहेका छन् जनता ? (भिडियो)


0
Shares

-विक्रम सुनुवार/ईमेज

स्थानीय नेताहरु प्रचार प्रसारमा ब्यस्त छन् भने मतदाताहरु पनि उपयुक्त दल र उम्मेद्वारको खोजीमा लागेका छन् ।

निर्वाचन कार्यालय बागलुङमा दर्ता भएका १४ दल चुनावी नारा लिएर गाउँ पसेका छन् ।

२० वर्षसम्म जनप्रतिनिधिबिहिन भएको स्थानीय तहको चुनावले लामो समय देखिको रिक्तता अन्त्य हुने र विकासले गति लिने स्थानीयको अपेक्षा छ ।

बैशाख ३१ गते हुने चुनावका लागि बाग्लुङ्गमा मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

अहिले गाउँ गाउँमा चुनाव लक्षित भेला तथा सभाहरु भइरहेका छन् । स्थानीय निकायको चुनावले मुलुकमा जारी राजनीतिक गतिरोधको अन्त्य गर्ने विश्वास लिइएको बताउँछन् नेपाली कांग्रेस बाग्लुङका सभापति दिपेन्द्र थापा ।

स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्न तथा संविधानको कार्यन्वयन गर्न ठूलो महत्व राख्ने भएकाले नेता, कार्यकर्तादेखि आम नागरिकमा व्यापक उत्साह देखिएको बताउँछन् एमाले बाग्लुङ्गका अध्यक्ष इन्द्रलाल सापकोट ।

स्थानीय तहको चुनावमा जिल्लामा पार्टीको एजेण्डा स्थापित गरेर प्रभावशाली उपस्थिति जनाउन सिङ्गो पार्टी पंक्ति गाउँ केन्द्रित अभियानमा लागेको नेकपा मावोवादी केन्द्रका जिल्ला नेता चन्द्रबहादुर थापाको भनाई छ ।

स्थानीय तह निर्वाचलने महिलाहरुको अधिकारलाई सुनिश्चित गर्ने भएकाले महिलाहरु पनि निकै उत्साहित भएको बताउँछिन एमालेकी बैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसी ।

निर्वाचन कार्यालय बाल्लुङ्गले मतदाता शिक्षा कार्यक्रम लगायतका काम गरिहेको निर्वाचन अधिकृत विकासचन्द्र शर्माले बताए ।

बागलुङका सबै स्थानीय तहमा गरी एक लाख ५९ हजार २ सय ५६ जना मतदाता रहेको शर्माले जानकारी दिए । प्रचारप्रसारसँगै दलहरु उम्मेद्वार छनोटको अन्तिम तयारीमा समेत जुटिसकेका छन् ।

बाग्लुङमा १ सय ३ वटा मतदान स्थल कायम गरिएको छ । ४ नगरपालिका, ६ गाउँपालिका र ८५ वटा वडा रहेको बागलुङमा आगामी स्थानीय तह चुनावबाट ४ सय ४५ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।