२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


निर्वाचनको ८० प्रतिशत तयारी पूरा : प्रमुख आयुक्त यादव


0
Shares

                                                                                        फाइल फोटो
नयाँवर्ष २०७४ का सन्दर्भमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको भन्दै आगामी स्थानीय तहको चुनावमा सहभागी हुन सबै पक्षलाई आह्वान गरे ।

स्थानीय तहको निर्वाचनपछि मुलुकमा शान्ति, स्थायित्व र समृद्धि आउने बताउँदै प्रमुख आयुक्त यादवले भने–‘हामी संविधान र कानुनका आधारमा निर्वाचनको प्रक्रिया अघि बढाउँछौं, संविधान कार्यान्वयनको पहिलो खुड्किलोकारुपमा रहेको स्थानीय तहको निर्वाचनको जिम्मेवारी पूरा गर्न आयोग प्रतिबद्ध छ ।’

मतदाता परिचयपत्र, मतदाता नामावली, मतपत्र र मतपेटिकाको छपाइ र व्यवस्थापनको काम एकैसाथ भइरहेको बताउँदै प्रमुख आयुक्त यादवले ‘निर्वाचनका लागि सबैको एउटै भावना भएकाले छोटो अवधिमै पनि तयारीको काम ८० प्रतिशत पूरा भइसकेको छ’–भने ।

आयुक्त ईला शर्माले निर्वाचनमा महिला, मधेसी र युवाको बढीभन्दा बढी सहभागिता होस् भनी शुभकामना व्यक्त गरिन् ।

आयुक्त ईश्वरीप्रसाद पौडेलले नेपालको इतिहासमा ऐतिहासिकरुपमा रहने स्थानीय तहको निर्वाचनको जिम्मेवारी पूरा गर्ने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरे ।

आयुक्त सुधीरकुमार शाहले नयाँवर्षले शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि हुने निर्वाचनमा सहभागी हुने सबैमा हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

यसैगरी, निर्वाचन आयोगले यही वैशाख ३१ गते आइतबार हुने स्थानीय तहको निर्वाचको राष्ट्रिय महोल बनिरहेको जनाएको छ ।

आयोगस्थित आफ्नो कार्यकक्षमा सन्चारकर्मीसँग कुराकानी गर्दै आयोगका सचिव गोपीनाथ मैनालीले नगर र गाउँ तहमा मतदाता र उम्मेदवार निर्वाचनका लागि अत्यन्त जागरुक र उत्साहितका साथ प्रतीक्षामा रहेको बताए ।

मुलुकभरका ७४४ स्थानीय तहको आगामी निर्वाचनका लागि ८४ हजार मतपेटिका आवश्यकता रहेकामा खरिद गरिएकोे ३० हजार मतपेटिका अबको तीन दिनभित्रै सबै प्राप्त भइसक्ने पनि आयोगले जनाएको छ ।

स्थानीय तहको निर्वाचनका लागि २१ हजार मतदान केन्द्र मतदान रहने जनाउँदै आयोगले बिहीबार बेलुकासम्म करिब एक करोड १७ लाख ८१ हजार छापिसकेको जनाएको छ ।

आगामी निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञापनपत्रमार्फत् उठाएका मागलाई स्थानीय चुनावको चटारोले गर्दा अहिले सम्बोधन गर्न नसकिएपनि निर्वाचनपछि तुरुन्तै यस विषयमा छलफल हुने बताउँदै सचिव मैनालीले निर्वाचनका लागि आवश्यक पर्ने १२ प्रकारका समानको पनि जोहो भइरहेको जानकारी दिए ।

यही वैशाख ३ गतेबाट निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्चालनमा आउने जनाउँदै उनले मधेसलगायत समग्र मुलुकमा निर्वाचनका काम सहजरुपमा भइरहेको बताए । रासस