२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


सबै जिल्लामा आजबाट मूख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालन हुँदै


0
Shares

बैशाख ३१ गते गरिने स्थानीय निर्वाचनका लागि पचहत्तरै जिल्लामा निर्वाचन कार्यालय राखेर काम गरिने आयोगले जनाएको हो ।

मूख्य निर्वाचन अधिकृतका रुपमा तोकिएका जिल्ला न्यायाधीशले काम थाल्न लागेका हुन् । मूख्य निर्वाचन अधिकृतले जिल्लामा खटिएका निर्वाचन अधिकृतसँग समन्वय र सुपरिवेक्षणका साथै स्थानीय निकाय निर्वाचन अधिकृतको रुपमा पनि काम गर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगले मूख्यसहित निर्वाचन अधिकृत र मतदान अधिकृत खटाइसकेको छ । ७ सय ४४ वटा स्थानीय तहमा भने वैशाख १२ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । यस्तै मतदातालाई मतदान गर्ने तरिका सिकाउन परिचालन गरिएका मतदाता शिक्षा कार्यकर्ता सम्बन्धित ठाउँमा पुगेर आफ्नो काम थाल्दैछन् ।

एक मतदान केन्द्र एक कार्यकर्ताका दरले खटाइएको र उनीहरु घरघरमा पुगेर कसरी मतदान गर्ने भन्ने जानकारी गराउने छन् । आयोगले सबै मतदान केन्द्रका लागि २१ हजार मतदाता शिक्षा कार्यकर्ता खटाइएको जनाएको छ ।

स्थानीय तह चुनावका लागि खरिद गरिएका ३० हजार मतपेटिका भने सोमबारसम्ममा प्राप्त हुने आयोगले जनाएको छ । देशभरका ७ सय ४४ स्थानीय तहको चुनावका लागि ८४ हजार मतपेटिका आवश्यक रहेकोमा ३० हजार थान खरिद गरिसकिएको आयोगको भनाइ छ ।