
अबको २९ दिनपछि हुने स्थानीय तहको चुनावका लागि एक उपमहानगरपालिकासहित ८ ओटै नगरपालिका र ८ ओटै गाउँपालिकाका १७ स्थानीय तहमा मेयर र उपमेयरसहित वडा अध्यक्षसम्मको चयनका लागि दलहरु जुटेका छन् ।
निर्वाचन कार्यालय पनि चुनावी तयारीमा जुटिरहेको छ । मतदाता पनि १८ वर्षपछि हुन लागेको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न आतुर देखिएका छन् ।
विराटनगर उपमहानगरपालिकाको छिमेकी गाउँपालिका जदाहाका पर्शुराम राजवंशी स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न आतुर छन् । तर, उनी विगतजस्तो ढंगले मत हाल्ने पक्षमा यसपटक देखिएनन् ।
डेढ दशकपछि हुन लागेको र अधिकारसम्पन्न स्थानीय सरकार निर्माण गर्ने यस निर्वाचनमा उनी दायाँबायाँ नगरी विकासप्रेमी र युवापुस्तालाई मत हाल्ने प्रस्ट बताउँछन् ।
मोरङको दक्षिणी कटहरी गाउँपालिकामा विशेषगरी राजवंशी समुदाय बसोबास गर्छन् ।
राजवंशी समुदायको बाहुल्य रहेको कटहरी–३ का उमेशराज राजवंशी पनि यस निर्वाचनमा मत हाल्न उत्तिकै उत्साहित छन् ।
तर, चुनाव नजिकिँदासम्म पनि आफ्नो गाउँक्षेत्रमा नेताहरु नआउँदा उनी खिन्न देखिन्छन् ।
उम्मेदवारको मनोनयन नभएकाले पनि नेताहरु गाउँ नपसेका होलान् भन्दै उनले राम्रो व्यक्ति आफ्नो छनोटमा पर्ने बताए ।
निर्वाचन कार्यालयले पनि नजिकिँदो स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय मोरङका निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले ३०० मतदानस्थल तय गर्दै आवश्यक काम भइरहेको जानकारी दिए ।
विराटनगर उपमहानगरपालिकासहित ८ नगरपालिका र त्यतिकै संख्यामा गाउँपालिकासहित १७ स्थानीय तहअन्तर्गत् १५९ वटा वडा रहेको मोरङमा ५ लाख ६३ हजार मतदाता छन् ।
स्थानीय तह निर्वाचनकै प्रयोजनका लागि ३५ दल दर्ता भएका छन् । यो निर्वाचनबाट मोरङमा ८३२ स्थानीय जनप्रतिनिधि चुनिनेछन् ।
प्रतिक्रिया दिनुहोस्