२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


निर्वाचनका लागि चीनबाट ११ प्रकारका सामग्री प्राप्त


0
Shares

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको समुपस्थितिमा निर्वाचन आयोगमा सोमबार आयोजित समारोहमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली र नेपालका लागि चीनका राजदूत यू होङबाट निर्वाचन सामग्री उपलब्ध गराइएको विषयको एक सहमतिपत्रमा हस्ताक्षर भयो ।

नेपाल सरकारको अनुरोधमा चीन सरकारले स्थानीय तह निर्वाचनका लागि करिब १४ करोड ४० रुपैयाँ बराबरको निर्वाचनको सामग्री उपलब्ध गराएको हो ।

चीनबाट जेलपेन, स्ट्याम्प प्याड, स्ट्याम्प प्याड मसी, क्यालकुलेटर, स्केल, पञ्चिङ मेसिन, टेबल घडी, कैंची, ग्लुस्टिक र रबरम्याट प्याड सहयोग प्राप्त भएका हुन् ।

उक्त समारोहमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी आइपरेकोबेला चीन सरकारबाट सहयोगस्वरुप निर्वाचनसम्बन्धी सामग्री प्राप्त भएकामा आभार व्यक्त गरे ।

उनले भने–‘नेपाल र चीनबीच रहिआएको मित्रवत् र न्यानो सम्बन्ध विस्तारमा थप योगदान मिलेको छ । सहयोगप्रति आभार व्यक्त गर्दछु । निर्वाचनको जिम्मेवारी पूरा गर्न कार्ययोजनाअनुरुप आयोग निरन्तर काम गर्नेछ ।’

आयोगका सचिव मैनालीले आगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउन चीन सरकारबाट हुँदै आएको सहयोगप्रति धन्यवाद दिए ।

नेपालका लागि चीनका राजदूत यू होङले चीन र नेपालबीचको सम्बन्ध मित्रवत् रहेको चर्चा गर्दै चीनले नेपालको पर्यटन, व्यापार, भौतिक पूर्वाधार निर्माण, ऊर्जाजस्ता क्षेत्रमा सहयोग र लगानी गर्दै आएको बताइन् ।

स्थानीय तहको निर्वाचनमा सहयोग गर्न पाएकामा उनले खुसी पनि व्यक्त गरिन् ।

निर्वाचनका लागि सहयोग सामग्रीका अतिरिक्त निर्वाचन आयोगले चीनबाट करिब १० करोड रुपैयाँ मूल्य तिरेर ३० हजारथान मतपेटिका खरिद गरेको छ ।

आयोगले खरिद गरेको सबै मतपेटिका केही दिनभित्रै प्राप्त हुनेछन् । रासस