२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


मुस्ताङी राजाका सल्लाहकार विष्ट गाउँपालिका प्रमुखमा उठ्ने


0
Shares

जिग्मेपरवल विष्टको दुई महिनाअघि काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो । २०६२/०६३ पछि वैधानिक रुपमा उपल्लो मुस्ताङमा राजसंस्था हटे पनि स्थानीयले सांस्कृतिक राजाका रुपमा स्व विष्टलाई सम्मान दिँदै आएका थिए ।

यसअघि लोमान्थाङ गाविसको उपाध्यक्ष चुनिएका, २५ वर्षसम्म पूर्व राजा विष्टको सल्लाहकार रहेका इन्द्रधारा विष्ट स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्न लागेका हुन् ।

मुस्ताङी राजाको सांस्कृतिक विरासतलाई जीवित राख्न, कोरला नाकाको दीर्घकालीन सञ्चालन, उपल्लो मुस्ताङमा पर्यटन र शिक्षाको विकासका लागि उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

‘उपल्लो मुस्ताङका जनताको राजसंस्थाप्रति ठूलो आस्था छ, त्यसलाई सांस्कृतिक रुपमा बचाउन जरुरी छ,’ उनले भने, ‘जिग्मेको निधनपछि अर्को वर्ष युवराज जिग्मेसिग्मे परवल विष्टलाई सांस्कृतिक राजा घोषणा गर्ने योजना छ ।’

उपल्लो मुस्ताङमा राजसंस्था र पर्यटन एकापसमा जोडिएकाले त्यसलाई जोगाइराख्नुपर्ने उनको तर्क छ । लोमान्थाङ क्षेत्रमा गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने घोषणा गर्ने उनी पहिलो व्यक्ति हुन् ।

स्थानीय तहको पुनःसंरचनाअनुसार लोमन्थाङ, छोसेर र छोन्हुप गाविस मिलेर लोमन्थाङ गाउँपालिका बनेको छ । यो गाउँपालिकामा एक हजार ३०० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । (रासस)