Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही


0
Shares

पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालकाअनुसार मंगलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका छन् ।

सो संख्या अहिलेसम्मकै बढी भएको उनले बताए । गत वर्ष कुल ३४ समूहका २८९ जनाले आरोहणको अनुमति लिएका थिए ।

‘यस वर्ष अनुमति लिनेक्रम चलिरहेको छ, वैशाख मध्यसम्म अनुमति लिन सकिने भएकाले संख्या अझै बढ्नसक्छ’–ढकालले भने ।

पर्यटन विभागबाट अनुमति लिएकामध्ये मंगलबारसम्ममा ३१ समूहका २९४ जना आरोही सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)को कार्यालय नाम्चेबाट अनुमति लिएर आधार शिविरतर्फ लागेका छन् ।

आरोही काठमाडौंबाट लुक्लासम्म हवाईजहाजमा तथा त्यहाँबाट नाम्चे पुगी एसपीसीसीको कार्यालयबाट अनुमति लिएर आधार शिविरतर्फ जाने गर्दछन् ।

केही आरोही दोलखाको जिरी हुँदै पैदल तथा सल्लेरीसम्म सडकमार्गबाट भएर त्यहाँबाट आधार शिविरतर्फ जाने गरेका छन् ।

यस वर्ष आरोहीको संख्या अत्याधिक भएपछि सगरमाथामा ट्राफिक जाम हुने सम्भावना बढेकाले आरोहणका लागि कुशल व्यवस्थापनमा लागेको सगरमाथा आरोही संघका अध्यक्ष आङ छिरिङ शेर्पाले बताए ।

‘यस वर्ष आरोहीको संख्या बढी भएकाले व्यवस्थापनमा विशेष ध्यान दिएका छौं’–उनले भने । रासस