
निर्वाचन नजिकिँदै गर्दा जिल्लास्थित गाउँ र नगरपालिकाका चोक र चौतारीमा चुनावमा युवा प्रतिनिधि हुनुपर्ने भन्दै चर्चा चल्न थालेको हो ।
लामो समयपछि स्थानीय तहको निर्वाचन घोषणा भएसँगै जिल्लावासी उत्साहित त बनेकै छन् अझ यो त स्थानीय सरकार नै भएकाले क्षमतावान् मानिसको खोजी पनि हुन थालेको हो ।
स्थानीयस्तरमा १९ वर्षपछि चुनाव हुन लागेपनि संवैधानिकरुपमा अधिकारसम्पन्न बनाएर स्थानीय सरकारकै हैसियतबाट भने यो नै पहिलो चुनाव हुन लागेको हो । त्यसैलेपनि उम्मेदवारीका लागि नयाँ पुस्ता तातिएको देखिँदैछ । उसोत दुई दशकसम्म स्थानीय निर्वाचन नहुँदा दलहरुमा सम्हाली नसक्नु गरी उम्मेदवारको भीड बढेको छ ।
लामो अन्तरालमा चुनाव हुन लागेकाले पुराना र नयाँ पुस्ताबीचको दाबी पनि उत्तिकै रहेको छ ।
मतदाता पनि आसन्न निर्वाचनमा युवा, जाँगरिलो, साहसिक र बौद्धिकलाई उम्मेदवार बनाउनुपर्ने मत राख्दछन् ।
निर्वाचनका पक्षमा रहेकाहरु संविधानले दिएको अधिकार प्रयोगमा ल्याउनसक्ने पढे–लेखेको सबल युवा व्यक्तित्व उम्मेदवार बनाउनुपर्ने बहसमा लागिरहँदा केही मधेसी दल भने अहिलेकै अवस्थामा चुनाव हुन नसक्ने अडानमा छन् ।
उनीहरु संविधान मधेसी, मुस्लिम, दलित, आदिवासीका लागि अनुकूल नभएको तर्क गर्दै आन्दोलनमै होमिएका छन् ।
आफूले बहिस्कार गर्नेमात्र होइन, चुनाव नै बिथोल्ने गरी मधेसी दलले विरोध कार्यक्रम ल्याएपछि चिन्ता पनि थपिएको छ ।
मधेशी दलका नेता भने सीमांकनसहित संशोधन पारित नभए निर्वाचन हुन नदिने रट लगाउँछन् ।
स्थानीय तहको निर्वाचन केन्द्रीय सरकारले नभइ प्रदेश सरकारले गराउनुपर्ने तर्कसमेत उनीहरुको छ । मधेसी मोर्चासँग पटक–पटक गरिएका सहमति कार्यान्वयन गर्न उनीहरुको जोड छ ।
आम मतदाता भने ‘हाम्रो नभनी राम्रो मान्छे’ उम्मेदवार तोक्न सुझाउँछन् ।
जनताको बीचमा भिजेको, सक्षम युवा पहिलो रोजाइ रहने बताएर उनीहरुले दलहरुलाई निर्णय गर्दा विचार पुर्याउन सन्देशसमेत दिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्