काठमाडौं, फागुन ८ । राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाको क्लब पर्सिजा जाकार्तामा अनुबन्धन हुने भएका छन् ।
गत सिजन पर्सिजाबाटै खेलेका रोहित पुनः एक सिजन सोही क्लबबाट खेल्ने टुंगो लागेको हो ।
रोहितलाई नयाँ सिजन पर्सिजाले क्लबमा अनुबन्धन गर्ने रोहितले जनाएका छन् ।
रोहित गत सिजन इन्डोनेसियन लिगमा वर्ष खेलाडी घोषित भएका थिए ।
उनको उच्च प्रदर्शनबाट प्रभावित क्लबले नयाँ सिजन पनि उनलाई क्लबमा अनुबन्धन गर्न लागेको जनाएको छ ।
इन्डोनेसियाको लिगमा उच्च प्रदर्शन गरेपछि रोहितले थाइल्यान्ड र अष्ट्रेलियालगायतका देशमासमेत ‘ट्रायल’का लागि प्रयास गरिरहेका थिए ।
तर, पर्सिजाले गत वर्षकोभन्दा बढी तलब सुविधा उपलब्ध गराएपछि उनी सोही क्लबमा बस्न सहमत भएका हुन् ।
‘आकर्षण तलब सुविधानसहित पुनः पुरानै क्लबबाट व्यावसायिक लिग खेल्ने निर्णय लिएको छु’–रोहितले भनेका छन् ।
क्लबसँग औपचारिक सम्झौतसहित एएफसी कपमा नाम दर्ता गर्न रोहित बुधबार बेलुका इन्डोनेसिया जाँदैछन् । उनी करिब दुई महिनादेखि नेपालमा थिए ।
पछिल्लो समय क्लब र रोहितबीच सेवा–सुविधाको विषयमा कुरा नमिल्दा सम्झौता हुन सकेको थिएन ।
लिग च्याम्पियनकारुपमा रोहितले पर्सिजाबाट एएफसी कप खेल्दैछन् ।
एएफसी कप खेल्नका लागि नाम दर्ता गर्ने अन्तिम समय बिहीबार सकिँदैछ । सोही कारण रोहित बुधबारै बेलुका इन्डोनेसिया जान लागेका हुन् ।
रोहितले खेल्ने इन्डोनेसियाको लिग भने आगामी अप्रिलबाटमात्र सुरु हुनेछ । रासस








प्रतिक्रिया दिनुहोस्