काठमाडौं, फागुन ८ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन बिहीबार नेपाल आउने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत माघ ३ गते राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि कालिन राष्ट्रिय टोली सम्हाल्न नेपाल आउन लागेका हुन् ।
एन्फाकाअनुसार योहान बिहीबार दिउँसो नेपाल आइपुग्नेछन् ।
उनलाई दुई वर्षका लागि एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अघिल्लो महिना दिएको थियो ।
सम्झौताअनुसार उनले २०१९ मार्च १ बाट २०२१ फेब्रुअरी २८ सम्म नेपाली टोलीको नेतृत्व गर्नेछन् ।
यसअघिका जापानी प्रशिक्षक ग्यातुको कोजी प्रवेशाज्ञाका कारण नेपाल आउन नपाउने भएपछि एन्फाले नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको थियो ।
पर्यटकीय भिसामा नेपालमा काम गरेका कोजीको श्रम स्वीकृति प्रक्रिया एन्फाले अघि नबढाउँदा उनले पर्यटकीय प्रवेशाज्ञामा नेपालमा काम गर्दै आएका थिए ।
गत भदौदेखि उनी नेपाल आउन पाएका थिएनन् । उनको सम्झौता भने गएको डिसेम्बरसम्मका लागि थियो ।
योहानले २०७० सालमा ‘ए’ डिभिजन क्लब मच्छिन्द्रको मुख्य प्रशिक्षककारूपमा काम गरेका थिए ।
योहानको नेतृत्वमा मच्छिन्द्रले उक्त वर्षको ‘ए’ डिभिजन लिग दोस्रो स्थानमा रहेर समाप्त गरेको थियो ।
योहानले स्वीडेनको तेस्रो डिभिजन क्लबबाट व्यावसायिक प्रशिक्षण सुरु गरेका थिए । रासस









प्रतिक्रिया दिनुहोस्