
रुकुममा दलहरु निर्वाचन लक्षित कार्यक्रम बनाउन, उम्मेवार चुन्न, नयाँ नगरपालिका र गाउँपालिकामा जिम्मेवारी तोक्न आन्तरिक बैठक र भेलामा व्यस्त छन् ।
जिल्लामा रहेका दलहरु चुनावी प्रचारको तयारीमा जुटेसँगै जिल्ला चुनावमय बन्दै गएको हो ।
करिब २० वर्षसम्म स्थानीय निकायको जनप्रतिनिधिलाई मतदान गर्न नपाएका मतदाताले आफूले रोजेका जनप्रतिनिधि चुन्न पाउने भएसँगै गाउँपालिका र नगरपालिकाहरुमा चुनावी उत्साह थपिएको हो ।
निर्वाचनपछि वडाध्यक्ष, सदस्य र गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखसमेत चुनिँदा स्थानीय तहमा अझ महत्व बढ्ने स्थानीय बताउँछन् ।
मतदाताहरुले आफूले रोजेको योग्य व्यक्ति निर्वाचित हुन सकेको अवस्थामामात्र गाउँको विकास हुने भन्दै पार्टीभन्दा योग्य, सक्षम, इमान्दार व्यक्तिलाईमात्र मत दिने बताउँदै आएका छन् ।
निर्वाचनको लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरी तयारी सुरु गरिएको निर्वाचन कार्यालय रुकुमका प्रमुख कमलमणि देवकोटा बताउँछन् ।
रुकुममा मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
त्यसले गर्दा पार्टीभित्र प्रतिनिधि छनोटमा कसलाई उम्मेदवारमा उठाउँदा विजय हुन सकिन्छ भन्ने विषय नै बढी महत्वका साथ उठेको पाइन्छ ।
३ नगरपालिका र ६ गाउँपालिका गरी ९ स्थानीय तह रहेको रुकुममा स्थानीय तहको निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नो तयारी तीव्र पारेको छ ।
१ लाख एक हजार ९ सय ३२ मतदाता संख्या रहेको रुकुममा मतदानका लागि १ सय ४५ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्