Logo ३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026


रोल्पादेखि इलामसम्मका स्रष्टा झोराहाटमा


0
Shares

स्थानीय तहको निर्वाचनले सहर र गाउँ तातिरहेका बेला झोराहाटमा शुक्रबार बेलुकादेखि ‘गाउँमा साहित्य कला उत्सव’ सुरु भएको हो ।

विराटनगरबाट करिब नौ किमीको दूरीमा रहेको झोराहाटमा भने छुट्टै रौनक सुरु भएको छ ।

दुईदिने कार्यक्रममा कविता गजल वाचन, गायन, अन्तक्र्रिया, सम्मानलगायत एक दर्जनभन्दा बढी कार्यक्रम सञ्चालन हुनेछ ।

उत्सवको वरिष्ठ साहित्यकार प्रा. डा. टङ्क न्यौपानेले उद्घाटन गरे । समूहले हरेक महिनाको दोस्रो शुक्रबार ‘गाउँमा कविता’ शृङ्खला सञ्चालन गर्ने गरेको छ ।

गत वर्षदेखि सञ्चालनमा आएको नाट्य समूहले हालसम्म ४८ जनाका कविता वाचन गराइसकेको छ । उत्सवको पहिलो दिन कलाकार, साहित्यकार र समाजसेवीलाई सम्मान गरिएको थियो ।

झोराहाटमा रहेर लामो समयदेखि कला क्षेत्रमा सक्रिय धनपति लुइँटेल, लोकनाथ न्यौपाने, मित्रप्रसाद भट्टराई, देवीप्रसाद ढुङ्गाना र यादवप्रसाद लुइँटेललाई सम्मान गरिएको समूहका अध्यक्ष भरत गुरागाईंले जानकारी दिए ।

त्यस्तै साहित्यकार अनिल पौडेल र भावना पौडेललाई पनि सो अवसरमा सम्मान गरियो ।

साहित्यकार पौडेल दम्पतीलाई भावना प्रतिभा पुरस्कारका लागि रु एक लाख ११ हजार एकको अक्षयकोष स्थापना गरेबापत सम्मान गरिएको हो ।

नाट्य समूहले हरेक वर्ष शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्ने गरी रु एक लाखको अक्षयकोष स्थापना गरेबापत समाजसेवी विवेक कर्णलाई पनि सम्मान गरियो ।

कार्यक्रममा कृष्ण धरावासीले लीलाबोध परिचर्चा गरे ।  पहिलो दिनको कार्यक्रमअन्तर्गत मनु मञ्जिल, याम थुलुङ, सीमा आभास, मीनकुमार नवोदित, रमेशचन्द्र अधिकारी, केजी सुब्बा, कैलाश शिखर, दीपा दाहाल, अभागी थेगुवा, राज माङलाख, राजकुमार अनिश्चित, सम्पदा रिजालसहितका १२ कविले १२ कविता प्रस्तुत गरे ।

पहिलो दिन शुक्रबार राति ११ बजेसम्म चलेको महोत्सवमा प्रतिनिधि कविता र गजल वाचन तथा गायनसमेत राखिएको थियो जहाँ ५० जनाभन्दा बढीले कविता र गजल प्रस्तुत गरे ।

कार्यक्रमको दोस्रो दिन आज सडक कविता, कवितामाथि बहस, कवितामा युवाशक्ति, छन्दमा कविता–कवितामा छन्दलगायत कार्यक्रम हुनेछ ।

कार्यक्रममा पूर्वका साथै काठमाडौँ, नुवाकोट, धादिङ, हेटौँडा, पोखरा, दाङलगायत ठाउँका साहित्यकारको पनि सहभागिता छ । रासस