काठमाडौं, फागुन ७ । संसदीय सुनुवाइ समितिले संवैधानिक परिषदले मुस्लिम आयोगको अध्यक्षका लागि सिफारिस गरेका समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको छ ।
आयोगको अध्यक्षमा प्रस्तावित अन्सारीविरुद्ध उजुरी दिने उजुरीकर्तासँगको छलफलपछि समितिले मंगलबार नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने निर्णय गरेको हो ।
सुनुवाइ समितिमा अन्सारीविरुद्ध एसएलसी र प्रमाणपत्र तहको प्रमाणपत्र नक्कली भएको, नागरिकतामा त्रुटि देखिएको र नेकपाको केन्द्रीय सदस्य रहेको उजुरी परेको थियो ।
समितिले संवैधानिक परिषदबाट विवादित प्रमाणपत्रहरु र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताबारे विवरण मगाउने जनाएको छ ।
यस्तै, समितिले अन्सारी नेकपाको केन्द्रीय सदस्य रहे/नरहेकोबारे निर्वाचन आयोगबाट जानकारी लिने भएको छ ।
पौडेल र सुवेदीको सुनुवाइ, निर्णय बिहीबार
यस्तै, राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको सुनुवाइ गरेपनि अनुमोदनको निर्णय भने बिहीबार बस्ने बैठकले गर्नेछ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने समितिका चारजना सदस्यहरु मंगलबार पनि बैठकमा उपस्थित भएनन् ।
प्रमुख प्रतिपक्ष दलका नेताको उपस्थितिबिना संवैधानिक आयोगको पदाधिकारीमा गरिएको सिफारिसप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका सांसदले सुनुवाइ समितिको बैठक बहिस्कार गर्दै आएका छन् ।
गत माघ ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषदको बैठकले पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्