Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


आम नेपालीले प्रजातन्त्रको अनुभूति गर्न पाएनन् : पूर्वराजा शाह


0
Shares

काठमाडौं, फागुन ७ । पूर्वराजा ज्ञानेन्द्र शाहले अझै पनि आम नेपालीले प्रजातन्त्रको अनुभूत गर्न नपाएको बताएका छन् । 

प्रजातन्त्र दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गर्दै उनले देश दौडाहाका क्रममा आफूले नागरिकले प्रजातन्त्रको अनुभुति गर्न नपाएको महसुस गरेको उल्लेख गरेका हुन् ।

शाहले जनतामा नैराश्यता, वितृष्णा बढेको र युवा पुस्तामा देश छाड्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘देश दर्शनको क्रममा हामीले बोध गरे अनुरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन । आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनू गम्भिर चिन्ताको विषय बनेको छ,’ पूर्वराजाको विज्ञप्तीमा उल्लेख छ । 

उनले राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक युवामा देश छाड्ने आतुरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्र दिन प्रतिदिन कमजोर बनिरहेको बताएका छन्् ।

‘हामी र हाम्रा पूर्खाहरुको पुर्ख्यौली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन,’ सन्देशमा उनले भनेका छन्, ‘जनताको हित, सुरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो ।’

उनले अगाडि भनेका छन्, ‘शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्युत हुन नहुने र दण्डहिनता एवं विधिविहिनताले विकराल स्थितिको सृजना हुन नपाउने गरी प्रजातन्त्र सोझासाझा सबै नेपालीको पहुँचमा हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो ।’

पूर्वराजा शाहले देशमा धर्मान्तरको अवस्था विकराल बनेको भन्दै त्यसलाई रोक्न सुझावसमेत दिएका छन् ।