२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


माओवादी केन्द्र गोरखाले छान्यो उम्मेदवार


0
Shares

सदरमुकाममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज चूडामणि खड्काले गोरखा नगरपालिकाको प्रमुखमा कृष्णबहादुर रानालाई उम्मेदवार बनाउने पार्टीको सर्वसम्मत् निर्णय भएको जानकारी दिए ।

उपप्रमुखमा भने कसलाई उम्मेदवार बनाउने भन्ने यकिन नभइसकेको तर चुनावी तालमेलका लागि नेपाली कांग्रेस, एमाले र राप्रपासँग छलफल भइरहेको बताए ।

पालुङ्टार नगरपालिकाको प्रमुखमा गुणराज देवकोटा र उपप्रमुखमा पम्फा बसेललाई उम्मेदवार उठाउने निर्णय भएको जनाइएको छ ।

यस्तै, चुमनुब्री गाउँपालिकाको अध्यक्षमा लाक्पा डुण्डप लामा र उपाध्यक्षमा कुमारी गुरुङ तथा धार्चे गाउँपालिकाको अध्यक्षमा सूर्य गुरुङ र उपाध्यक्षमा आशा गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी नेत्री कमला नहर्कीले जानकारी दिइन् ।

सुलिकोट गाउँपालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ, आरुघाट गाउँपालिकाको अध्यक्षमा जगन्नाथ खनाल र उपाध्यक्षमा अमृता लामा, भीमसेन गाउँपालिकाको अध्यक्षमा लोकप्रसाद बञ्जरा र उपाध्यक्षमा लीला श्रेष्ठ, सहिद लखन गाउँपालिकाको अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा देवकोटालाई उठाउने निर्णय भएको छ ।

गन्डकी गाउँपालिकाको अध्यक्षमा दीपक तिमिल्सिना र उपाध्यक्षमा पूर्णा थापा, अजिरकोट गाउँपालिकाको अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल, सिरानचोक गाउँपालिकाको अध्यक्षमा नवराज पुडासैनीलाई उठाउने भएको छ भने उपप्रमुख तोक्न बाँकी छ ।

नेपाली कांग्रेस, नेकपा एमालेले भने अहिलेसम्म उम्मेदवार तय गर्न सकेका छैनन् । आकांषी धेरै हुँदा सर्वसम्मत् उम्मेदवार तय गर्न नसकिएको बताइएको छ ।

कांग्रेसले नगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्रमा नै छनोट गर्ने गरी गृहकार्य गरिरहेको छ भने एमालेले प्रदेश कमिटीबाट नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार तोक्ने बताइएको छ । गाउँपालिकामा भने सर्वसम्मतरुपमा उम्मेदवार तोकिएका छन् । रासस