काठमाडौं, फागुन ६ । नेक्सस क्रिकेट एकेडेमीले यस वर्षदेखि एसइई दिएर बसेका विद्यार्थीबाट खेलाडी छनोट गरी ब्रमास्मी एसइई कप एकदिवसीय क्रिकेट आयोजना गर्ने भएको छ ।
आयोजक नेक्सस क्रिकेट एकेडेमीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी वैशाख अन्तिम साता काठमाडौंमा हुने जानकारी गराएको हो ।
प्रतियोतिाका लागि सोमबारै ब्रमास्मी कलेजसँग मुख्य प्रायोजन सम्झौता भएको छ ।
सम्झौतामा नेक्सस एकेडेमीका अध्यक्ष भरतकुमार शाही र ब्रमास्मी कलेजका निर्देशक सुनन्दा गौतमले हस्ताक्षर गरे ।
सम्झौताअनुसार ब्रमास्मी कलेजले आयोजकलाई सात लाख ५० हजार रुपैयाँ प्रदान गर्नेछ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहने नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले जानकारी दिए ।
उनले प्रतियोगितामा धेरैभन्दा धेरै खेलाडीको सहभागिताका लागि ११ सहरमा ‘ट्यालेन्ट हन्ट’ आयोजना गरिने बताए ।
प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान र ‘म्यान अफ दी सिरिज’ हुनेलाई नेक्सस क्रिकेट एकेडेमी दिल्ली सेन्टरमा एक वर्षसम्म निःशुल्क प्रशिक्षणको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको अनुमानित लाग २५ लाख रूपैयाँ रहेको छ ।
प्रतियोगिता मूलपानी क्रिकेट मैदानमा आयोजना हुने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्