
गत फागुन १८ गतेदेखि लागू भएको आचारसंहिता उल्लंघनसम्बन्धी १३ सय ५० भन्दा बढी उजुरी आयोगमा परेका छन् ।
तर, निर्वाचन नै प्रभावित हुने गरी आचारसंहिता उल्लंघनका घटनाको उजुरी भने आयोगमा परेका छैनन् ।
स्थानीय तहको निर्वाचलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढंगले सम्पन्न गर्न निर्वाचन आयोगले गत फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो ।
आयोगले निर्वाचन आयोग ऐन २०६३ को दफा २८ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता बनाएको थियो ।
निर्वाचन आचारसंहिता अनुगमनका लागि निर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा केन्द्रीय अनुगमन समितिसमेत गठन गरेको थियो ।
अहिलेसम्म आयोगमा निर्वाचन आचारसंहिता उल्लंघनका १३ सय ५० भन्दा बढी उजुरी परेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अहिलेसम्म निर्वाचनको वातावरण नै बिग्रिने गरी आचारसंहिता उल्लंघनसम्बन्धी गम्भीर प्रकृतिका उजुरी भने नआएको जानकारी दिए ।
निर्वाचन आयोगले आचारसंहिता अनुगमनका लागि केन्द्रबाट उच्चस्तरीय अनुगमन टोली पठाइरहेको छ । आचारसंहिता अनुगमन गर्ने जिम्मा मतदान अधिकृतलाईसमेत दिइएको छ ।
निर्वाचन आचारसंहिता उल्लंघनका घटना भए स्थानीय अधिकारीलाई घटनास्थलमै कारबाही गर्नेसम्मको अधिकार आयोगले दिएको छ ।
स्थानीय तहको चुनाव दुई चरणमा हुने भएसँगै निर्वाचन आचारसंहिता पनि लम्बिने भएको छ । निर्वाचन आचारसंहिता दोस्रो चरणको चुनावका सबै कार्यक्रम सम्पन्न नभएसम्म लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
आचारसंहिता लागू भएदेखि अहिलेसम्म बढीजसो सरकारी पक्षबाट सरुवा, बढुवाका लागि निवेदन परेको आयोगले जनाएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्