Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


धनगढी स्टार्सलाई हराउँदै रुपन्देही ‘प्लेअफ’मा


0
Shares

काठमाडौं, फागुन ६ । धनगढी स्टार्सलाई हराउँदै रुपन्देही च्यालेन्जर्सले धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेटको ‘प्लेअफ’मा ठाउँ पक्का गरेको छ ।

सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा रुपन्देही ३९ रनले विजयी भयो ।

१५ ओभरमा घटाइएको खेलमा रुपन्देहीले दिएको १०७ रनको लक्ष्य पछ्याएको धनगढीले १४ ओभरमा ‘अलआउट’ हुनुपूर्व ६७ रनमात्रै बनायो ।

धनगढीलाई सस्तैमा समेट्न रुपन्देहीका ललितसिंह भण्डारीले ३ विकेट लिए भने बिक्रम सोबले २ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित् १५ ओभरमा अलआउट हुनुपूर्व १०६ रन जोडेको थियो । उसका लागि सुमित महर्जनले सर्वाधिक ३३ रन तथा विनोद भण्डारीले २४ रन जोडे ।

बलिङतर्फ धनगढीका सोमपाल कामी, पवन सराफ र विपीन खत्रीले २/२ विकेट लिए ।

जितसँगै रुपन्देहीले ५ खेलबाट ६ अंक बटुल्दै प्लेअफ चरणमा ठाउँ पक्का गरेको छ ।

यसअघि, काठमाडौं गोल्डेन्सले पनि प्लेअफमा ठाउँ सुरक्षित गरिसकेको छ ।