२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


चार महानगरपालिकामा यी हुन् कांग्रेस र माओवादी केन्द्रका मेयर र उपमेयरका उम्मेदवार


0
Shares

दुई दिनदेखि जारी कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले मंगलबार सबै महानगरपालिकाका प्रमुख र उपप्रमुखमा उम्मेदवार चयन गरेको पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

पार्टीले काठमाडौं महानगरपालिका प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्गी, पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङ, भरतपुर महानगरपालिका प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा पार्वती शाह तथा ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जन र गीता सत्यालको टुंगो लगाएको उनले बताए ।

यही वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नम्बर–३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ स्थानीय तहमा हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले मंगलबार (आज) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको छ ।

पहिलो चरणको निर्वाचन हुने तीन प्रदेशमा चाार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका तथा एक सय ८६ गाउँपालिका छन् ।

माओवादी केन्द्रबाट उम्मेदवार चयन
नेकपा माओवादी केन्द्रले चार ओटै महानगरपालिकाका उम्मेदवार चयन गरेको छ ।

जिल्ला समितिको सिफारिसमा मंगलबार बिहान सबै महानगरपालिकाका उम्मेदवार चयन गरिएको सो पार्टीले जनाएको छ ।

माओवादीले काठमाडौंका प्रमुखमा सर्वोत्तम डंगोल र उपप्रमुखमा सुशीला पौडेललाई उम्मेदवार बनाएको छ । डंगोल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा नगर समितिको इन्चार्जसमेत हुन् ।

उपप्रमुखका प्रत्याशी पौडेल केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन् ।

यस्तै, ललितपुर महानगरपालिकामा दिनेश महर्जन प्रमुख र उपप्रमुखमा मञ्जरी शाक्यलाई उम्मेदवार बनाइएको छ ।

माओवादी केन्द्रका जिल्ला इन्चार्ज हरि दाहालकाअनुसार जिल्लाका सबै स्थानीय तहको उम्मेदवार चयन गरिएको छ ।

ललितपुर महानगरका प्रमुखका उम्मेदवार महर्जन पार्टी ललितपुर नगर इन्चार्ज र केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन् ।

उपप्रमुखका उम्मेदवार शाक्य स्थानीय सामाजिक कार्यकर्ताकारुपमा क्रियाशील छिन् ।

यस्तै, भरतपुर महानगरका प्रमुखमा रेणु दाहाललाई तथा उपप्रमुखमा ईश्वर सापकोटालाई उठाइने भएको छ ।

प्रमुखका उम्मेदवार दाहाल माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सापकोटा स्थानीय नेता हुन् ।

यस्तै, क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो मानिएको पोखरा–लेखनाथ महानगरपालिका प्रमुखमा माओवादी केन्द्रले विश्वप्रकाश लामिछानेलाई उम्मेदवार बनाएको छ ।

यस्तै, उपप्रमुख उम्मेदवारमा गोमा ढकाललाई अगाडि सारिएको छ ।

पोखरा–लेखनाथ महानगरका प्रमुखका प्रत्याशी लामिछाने पोखरा नगर विकास समितिका पूर्वअध्यक्ष हुन् ।

पोखराको परिचयकारुपमा रहेको फेवाताल संरक्षणको विशेष योजना तयार पारेका उनी माओवादी केन्द्रका नेता हुन् ।

यस्तै, उपप्रमुखका उम्मेदवार ढकाल स्थानीय सामाजिक कार्यकर्ताकारुपमा क्रियाशील छन् । रासस