
विभिन्न राजनीतिक दल तथा स्वतन्त्रले दिएका उम्मेदवारीको सूची मंगलबार नै प्रकाशित गरिने भनिए पनि कतिपय जिल्लामा राति अबेरसम्म उम्मेदवारी दर्ता भएकाले आज सूची प्रकाशित गर्न लागिएको हो ।
यसैगरी आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने र मनोनयनपत्र जाँच पनि आजै गर्ने जनाएको छ ।
कुनै उम्मेदवारबारे केही उजुरी भएमा निर्वाचन अधिकृतको कार्यालयमा गएर उजुरी दिन सकिने आयोगले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले मनोनयन जाँच गरेर बिहीबार उम्मेदवारकोे नामावली प्रकाशन गर्नेछ । पहिलो चरणमा वैशाख ३१ गते २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।
चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिकामा चुनाव हुनेछ । पहिलो चरणको चुनावबाट ९७ प्रमुख र उपप्रमुख, १ सय ८६ अध्यक्ष र उपाध्यक्ष चयन हुने छन् ।
यस्तै २ हजार ५ सय ९८ वडाध्यक्ष तथा यति नै संख्यामा महिला र दलित सदस्य निर्वाचित हुने छन् ।
चुनावमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता सहभागी हुँदैछन् । मतदानका लागि निर्वाचन आयोगले ६ हजार ६ सय ४२ मतदान केन्द्र तोकेको छ ।
यसैबीच पहिलो चरणमा चुनाव हुने तीन प्रदेशका ३४ जिल्लामा उम्मेदवारले प्रचार शुरु गरेका छन् । उम्मेदवारी दर्ता गरेलगत्तै उनीहरुले प्रचारप्रसारको काम सुरु गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्