२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


३४ जिल्लाका २८३ स्थानीय तहमा ४१ हजार बढीको उम्मेदवारी


0
Shares

निर्वाचन आयोगले उम्मेदवारी दर्ताको सूची प्रकाशन गर्ने तयारी गर्दैगर्दा उम्मेदवारहरु भने प्रचार–प्रसारमा उत्रिन थालिसकेका छन् ।

तीन प्रदेशका २८३ स्थानीय तह निर्वाचनका लागि मंगलबार भएको उम्मेदवारी दर्तामा चुनावी उत्साह देखियो ।

प्रदेश नम्बर–३, ४ र ६ का ३४ जिल्लामा वैशाख ३१ गते हुने निर्वाचनबाट १३ हजार ५ सय ५६ जनप्रतिनिधि निर्वाचित हुँदैछन् ।

निर्वाचन आयोगकाअनुसार पहिलो चरणको निर्वाचनका लागि २८३ स्थानीय तहमा विभिन्न पदका लागि ४१ हजारभन्दा बढीको उम्मेदवारी परेको छ । केहि स्थानीय तहको विवरण आउन बाँकी छ ।

उम्मेदवारी दर्तामा देखिएको उत्साहले चुनावबारे उठाइएका आशंका पनि मेटाएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार काठमाडौं महानगरपालिकाको मेयरका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी २८, उपमेयरका लागि १३ जना, पोखरा महानगरको मेयर पदका लागि १७ जना र उपमेयरका लागि ११ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, ललितपुर महानगरको मेयर पदका लागि १७ जना र उपमेयरका लागि १२ जना तथा भरतपुर महानगरको मेयरका लागि १५ जना र उपमेयरका लागि १२ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगकाअनुसार तीनओटा प्रदेशका चारओटा महानगरपालिका, एक उपमहानगर र ९२ ओटा नगरपालिकाका मेयर, उपमेयर तथा १८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता भएको छ ।

महानगरका १२३, उपमहानगरका १९, नगरपालिकाका १ हजार ९१ र गाउँपालिकाका १ हजार ३ सय ६५ गरी २ हजार ५ सय ९८ वडाध्यक्ष र १० हजार ३ सय ९२ वडासदस्य पदका लागि मनोनयन दर्ता भएको हो । २८३ तहमा २ हजार ५ सय ९८ वडा रहेका छन् ।

पहिलो चरणमा निर्वाचन हुने तीन प्रदेशमा मतदाता संख्या ४९ लाख ५६ हजार ९ सय २५ रहेको छ भने ६ हजार ६ सय ४२ मतदान केन्द्र तोकिएका छन् ।