काठमाडौं, फागुन ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीले भ्रष्टाचार र बेथितीविरुद्ध प्रहार गरिएको गीतलाई सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् । लोक गायक पशुपति शर्माको गीत सरकारले बन्द गराएर सरकारले पञ्चायती शासनको झल्को दिएको उनले बताए ।
आइतबार रिपोर्टर्स क्लव नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, ‘हामीलाई त अहिले पञ्चायतकालीन शासनजस्तो झझल्को लागेको छ । सरकारले नागरिक अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ ।’
सरकार अहिले लोकतान्त्रिक पद्धति र संविधान विपरित चलिरहेको उनले बताए । ‘भ्रष्टाचारको विरुद्धमा गीत लेख्दा गीत नै बन्द भयो । यो सरकारको गलत कदम हो ।’
जोशीले वर्तमान सरकार अनुदारवादी र अलोकतान्त्रिक बनेको आरोप लगाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको रोष्ट्रममा पेश गरेको तथ्यांक नै मिथ्यांक रहेको जोशीको आरोप छ । उनले भने, ‘तथ्यांकलाई प्ले गर्न सकिन्छ, प्रधानमन्त्रीले तथ्यांक नभईकन मिथ्यांक पेश गर्नुभयो । उहाँले तथ्यांक दिने निकायहरुलाई मिथ्यांक दिन प्रेरित गर्नुभएको होला ।’ उनले वर्तमान सरकार राजनीतिक रुपमा अनुदार भएको टिप्पणी गरे ।
देशका सबै आर्थिक सुचकांकहरु नकारात्मक रहेको दृष्टान्त पेश गर्दै उनले भने, ‘अहिले व्यापार घाटा बढेको छ । महँगी बढेको छ । विदेशी लगानी घटेको छ । तर, प्रधानमन्त्रीले हिजोको भन्दा आज धेरै प्रगति भयो भन्नुभएको छ । म भन्छु, हिजोभन्दा आज प्रगति भएकै हो तर, त्यो भ्रष्टाचारको प्रगति हो । हिजो करोडको भ्रष्टाचार हुन्थ्यो, अहिले अरबौंको भ्रष्टाचार भएको छ ।’
सुन काण्ड, वाईबडी काण्डलगायत भ्रष्टाचार काण्डमा दोषीलाई कारबाही नभएकोमा उनले सरकारविरुद्ध आक्रोश पोखे । उनले भने, ‘सुन काण्डमा सरकारले किन परिणाम ल्याउन सकेन ? प्रधानमन्त्रीले डा. गोविन्द केसीको विषयमा संसदीय सर्वोच्चताको खिल्ली उडाउनुभयो ।’
सरकारले हरेक कुरामा तामझाम देखाएको तर परिणाम केहीमा पनि दिन नसकेको उनको आरोप छ । उनले भने, ‘ठूलो कुरा गरेर हुँदैन । काम गर्नुपर्छ । विकास निर्माणका काम गर्नुपर्छ । पानीजहाजको सपना देख्नु गलत होइन । तर, तामझाम गर्नुहुँदैन ।’
जोशीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त राजनारायण पाठकको भ्रष्टाचारको विषयमा सरकारलाई चार महिना अघि नै जानकारी रहेको भन्ने कुरा बाहिर आएको सुनाउँदै यतिका दिनसम्म पनि किन कारबाही गरिएन भन्दै प्रश्न गरे ।
उनले अहिलेको जस्तै र यही रुपमा भ्रष्टाचार बढ्यो भने मुलुक अझै ठूलो आर्थिक संकटमा फस्ने चिन्ता व्यक्त गरे । मुलुकमा भ्रष्टाचार संस्थागत भएको हो कि भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चिन्ता व्यक्त गरेको सुनाउँदै उनले यो ठूलो समस्या भएको बताए ।
उनले सुशासन र सदाचार अब कहाँ छ भनेर खोज्ने दिन आउनसक्ने पनि बताए । जोशीले सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्