२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


आचारसंहिताविपरीत मोटरसाइकल र्‍याली निकालेकोमा २४ घन्टे स्पष्टीकरण


0
Shares

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले अनुगमनकोक्रममा सप्रमाण फेलापारी तत्काल र्‍याली रोक्न निर्देशन दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रमुखका उम्मेदवार थापाले प्रचार–प्रसारका लागि वैशाख २३ गते दिनको १२ः३० बजे निर्वाचन आचारसंहिताविपरीत सातदोबाटो–कृष्णमन्दिर क्षेत्रमा मोटरसाइकल र्‍याली निकालेको आयोगले जनाएको छ ।

स्पष्टीकरणमा भनिएको छ–‘निर्वाचन आचारसंहिताविपरीत काम–कारबाही गरेको कसुरमा हदैसम्मको कारबाही किन नगर्ने ? कारबाही गर्नु नपर्ने कुनै कारण भए प्रस्तुतपत्र प्राप्त भएको मितिले चौबिस घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेस गर्नु हुन आदेशानुसार अनुरोध छ ।’

निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ५ को ‘क’को १३ मा ‘निर्वाचन प्रचार–प्रसारकोक्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारी–साधनको र्‍याली गर्न वा गराउन नहुने’ उल्लेख छ ।

सेतोपाटीलाई पनि निर्देशन
यसैबीच, आयोगले निर्वाचन आचारसंहिताविपरीत सेतोपाटी डटकमले काठमाडौं महानगरपालिका मतदातालाई ‘हामीले सोध्यौं तपाइँ कसलाई भोट हाल्नुहुन्छ ? किन ?’ भन्ने शीर्षकमा मतसर्वेक्षण तथा मतदाताको धारणा संकलन गरेकोप्रति सख्त ध्यानाकर्षण भएको जनाएको छ ।

आमजनताले आफूले कसलाई मत दिने र किन दिने ? भन्ने विषय गोप्य राख्न पाउने कानुनी प्रावधानलाई बेवास्ता गरी नागरिक हकविपरीत सर्भेक्षणकार्य गर्न निर्वाचन आचारसंहिता प्रतिकूल हुने भएको हुँदा अब आइन्दा यस प्रकारका सूचना, सन्देश र सर्वेक्षण गरी सार्वजनिक नगर्न/नगराउन आयोगले उक्त मिडियालाई निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ४ को (त)मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मतसर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख छ । रासस