२६ जेष्ठ २०८२, सोमबार | Tue Jun 10 2025


सरकारी सुविधा नलिने कांग्रेसका उम्मेदवारको प्रतिबद्धता


0
Shares

बेनी नगरपालिकामा कांग्रेसबाट प्रमुखका प्रत्यासी हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका प्रमुख क्या. डमबहादुर पुन र रघुगंगा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले यस्तो घोषणा गरेका हुन् ।

कांग्रेस–माओवादी गठबन्धनबाट प्रमुखका प्रत्यासी बनेका हरिकुमार श्रेष्ठले वडा कार्यालयसम्म सडक कालोपत्रे, गलेश्वर, पुलाश्रम, स्वर्गाश्रमजस्ता धार्मिक पर्यटकीय गन्तव्यको विकास, व्यवस्थित बजार र सरसफाइलाई मुख्य एजेन्डा बताएका छन् ।

‘यी सबै गर्नका लागि मेयरमा उठेको हुँ, सरकारी सुविधा प्रयोग गर्नलाई होइन’–उनले भने ।

नगरपालिकामा एमाले–राप्रपा गठबन्धनबाट प्रमोद श्रेष्ठ प्रमुखका प्रत्यासी बनेका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत हुन् ।

यस्तै, अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका उम्मेदवार क्या. पुनले भने–‘प्रमुख पदका लागि कस्तो र कति सरकारी सुविधा निर्धारण गरेको छ, मलाई थाहा छैन । तर, जे–जति पाउँछु त्यो सबै वृद्धवृद्धाको सुविधामा खर्च गर्नेछु ।’

अन्नपूर्णमा एमालेका तर्फबाट नारायण पुन र माओवादी केन्द्रका कुलवीर राम्जाली चुनावी मैदानमा छन् ।

त्यसैगरी, रघुगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रत्यासी भवबहादुर भण्डारीले पनि मतदातामाझ प्रमुखमा जिताए कुनैपनि सरकारी सुविधा प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस