सभामुखको कार्यकक्ष सिंहदरबारमा सोमबार भएको भेटवार्तामा दुईपक्षीय चासो र हितका विषयमा उनीहरुबीच कुराकानी भएको थियो ।
नेपालको व्यवस्थापिका–संसदमा भइरहेका काम र समसामयिक अवस्थाबारे आइपीयुका अध्यक्षले सभामुख घर्तीसँग चासो व्यक्त गरेको उनका सन्चारविज्ञ बबिन शर्माले जानकारी दिए ।
विश्वका केही देशमा संसदलाई असजिलो पार्नेगरी काम भइरहेको उल्लेख गर्दै ती देशमा छिट्टै आइपीयुले अध्ययन गरेर समस्या समाधानको पहल गर्ने बताए ।
संसदलाई अप्ठ्यारो पार्ने अवस्था सिर्जना भएमा आइपीयु सधैं संसदको पक्षमा उभिने चौधरीले बताए ।
सभामुख ओनसरी घर्तीले नेपालको समसामयिक अवस्थाबारे जानकारी गराउँदै केही दिनभित्रै स्थानीय तहको चुनाव हुन गइरहेको र यो चुनाव संविधान कार्यान्वयनका लागि महत्वपूर्ण रहेको बताइन् ।
अघिल्लो आइपीयुको बैठककाक्रममा आफूले बंगलादेशको चटगाउँ बन्दरगाह भ्रमण गरेको स्मरण गर्दै सभामुख घर्तीले नेपाल र बंगलादेश सरकारले आवश्यक थप समझदारी बनाएर सो बन्दरगाह नेपालले छिट्टै प्रयोग गर्न पाउने अवस्था सिर्जना गर्नुपर्ने बताइन् ।
उनले बंगलादेश र नेपालको संसद र सांसदबीचको सम्बन्ध अझ बलियो र बाक्लो बनाउनुपर्ने धारणा राख्दै बंगलादेशका सभामुखलाई नेपाल भ्रमणको निम्तोसमेत दिइन् । रासस





प्रतिक्रिया दिनुहोस्