काठमाडौं, फागुन २ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने आवद्ध रहेको मेलबर्न स्टार्स अष्ट्रेलियामा जारी ‘बिग बास’ लिग ट्वेन्टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा होबार्ट हुरिकेन्सलाई ६ विकेटले हराउँदै मेलबर्न फाइनलमा पुगेको हो ।
होबार्टमा भएको खेलमा घरेलु टोलीले दिएको १५४ रनको चुनौती मेलबर्नले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
कप्तान ग्लेन म्याक्सवेलले ३३ बलमा अविजित रहँदै ४३ तथा सेब गोचले २२ बलमा अविजित रहँदै ३३ रन बनाए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको होबार्टले २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
बेन म्याक्डर्मोटले ५३ रन बनाएको इनिङ्समा ड्यानिएल वारेलले ४ विकेट लिए ।
नेपालका सन्दीप भने विकेटविहीन बने । लेग स्पीनर सन्दीपले पूरै ४ ओभर बलिङ गर्दै ३१ रन खर्चिए ।
अब मेलबर्नले उपाधिका लागि फाइनलमा सिड्नी सिक्सर्स र मेलबर्न रेनेगाड्सबीचको दोस्रो सेमिफाइनलको विजेतासित खेल्नेछ ।








प्रतिक्रिया दिनुहोस्