
मतगणना ढिलाइप्रति निर्वाचन आयोगले चासो राख्दै सुधारका लागि निर्वाचन अधिकृतहरुलाई गणक टोलीहरुको संख्या थप्न निर्देशन दिएको हो ।
आयोगले मतगणनाको गति बढाउने उपाय गणक टोलीको संख्या बढाउने विकल्प भएको भन्दै संख्या बढाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।
आयोगले कर्मचारी नपुग भए थप कर्मचारी खटाउन र आवश्यक टोली थप्न निर्देशन समेत दिएको छ ।
आयोगले मतगणनाका क्रममा राजनीतिक दलहरूले झिक्ने साना–साना विवादले पनि ढिलाइ भइरहेको जनाएको छ ।
मतगणना छिटो गर्न राजनीतिक दल तथा उम्मेदवारलाई समेत सघाउन निर्वाचन आयोगले आग्रह गरेको छ ।
निर्वाचन अधिकृतले राजनीतिक दल र उम्मेदवारको सहमतिमा अहिले छनोट गरिएका गणनास्थलमा ठाउँ कम भए नजिकैको अर्को ठाउँ पनि उपयोग गर्न सक्ने गरी आयोगले निर्देशन पठाईसकेको छ ।
मतदाता परिणाम जान्न आतुर भए पनि स्थानीय तह पहिलो चरणको मतदानको तेस्रो दिनसम्म मतगणनाको गति निकै सुस्त देखिएको छ ।
चारैवटा महानगरपालिकालगायत अधिकांश ठूला शहर र बजार क्षेत्रको मतगणना निकै सुस्त छ ।
प्रतिक्रिया दिनुहोस्