२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


राष्ट्रपतिद्वारा बिशाल प्रदर्शन नियन्त्रण गर्न सेनालाई आदेश


0
Shares

तनावग्रस्त राष्ट्रपति माइकल टेमरले मुलुकमा शान्ति सुरक्षा र कानूनको कडा परिपालन तथा सुब्यबस्था कायम गर्न भनी राष्ट्रिय सेनालाई परिचालन हुन आदेश दिएका छन् ।

प्रदर्शनकारीहरुको प्रमुख माग राष्ट्रपति टेमरको राजिनामा वा बरखास्ती रहेको छ । राजधानी ब्राजिलियामा दशौं हजार जनताको एक बिशाल जुलूसले नाराबाजी गर्दै यहाँ अवस्थित संसद भवन घेराउ गरेका छन् ।

राष्ट्रपति टेमरले केही समय अघि लागु गर्नु भएको आर्थिक सुधारका कार्यक्रमप्रति कडा बिरोध जनाउँदै जन प्रदर्शन भएको र उनी स्वयं भ्रष्टाचारको काण्डमा मुछिएको आरोप लगाउँदै तत्काल राजिनामाको माग गरिएको हो ।

प्रदर्शनकारीहरुले राजधानीका कतिपय सडकहरुमा टायर बालेर, घुम्ती (मोबाइल) शौचालयका छाप्राहरु तेस्र्याएर दंगा नियन्त्रण गर्न खटिएका प्रहरीहरुको मार्ग अवरुद्ध पारेका छन् ।
आक्रोशित प्रदर्शनकारीहरुले कृषि मन्त्रालयमा आगजनी गरेका र प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न अर्ध–सैनिक प्रहरीहरुले हावामा बन्दूक पड्काएका र ठाउँ ठाउँमा अश्रु ग्याँस हानेका दृश्यहरु स्थानीय सञ्चार माध्यमहरुले भिडियो क्यामेरामा खिचेर सार्वजनिक गरेका छन् ।

एक ठाउँमा गोली लागेर एकजना प्रदर्शनकारी घाइते भै ढलेको देखिएको तर सो गोली कसले हानेको हो सो पुष्टि भै नसकेको जनाइएको छ । सैनिक वा प्रहरीलाई गोली हान्ने आदेश नदिएकोमा यस्तो घटना हुन गएकोमा अनुसन्धान भै रहेको भन्दै सरकारी जन सुरक्षा सचिवालय पन्छिएको छ ।

उग्र जनप्रदर्शनबाट उत्पन्न यस जोखिमपूर्ण अवस्थामा राष्ट्रपतिको कार्यालय र निवास परराष्ट्र मन्त्रालयलगायत सरकारी संघीय भवनहरुका सुरक्षाका लागि सेनाले पहरा दिएको तर आन्दोलनकारीहरुमाथि गोली हान्ने आदेश नदिएको भनी राष्ट्रका नाममा गरेको एक छोटो सम्बोधनको क्रममा रक्षा मन्त्री राउल जंगम्यानले बताएका छन् ।

ब्राजिलको अर्को ठूलो महानगर रियो डि जेनेरोमा पनि राष्ट्रपति टेमर र उनले लागु गरेका अर्थिक सुधार वा मितव्ययिताको कार्यक्रमको बिरोधमा ब्यापक जनप्रदर्शन र प्रहरीसँग झडप भएको जनाइएको छ ।

ब्राजिलको संसद पनि राष्ट्रपतिको समर्थन र बिरोधमा बिभाजित भै दुई पक्ष भएको जनाइएको छ । बहूसंख्यक विपक्षी सांसदहरुले राष्ट्रपति टेमरको तत्काल राजिनामाको माग गर्दै संसदीय कारबाहीहरु नै अवरुद्ध पारेका छन् ।

वर्तमान राष्ट्रपति टेमर पदीय निवार्चनमा बिजयी भएर आएकोे नभै महाअभियोग लागेर हटाइनु भएकी पूर्व राष्ट्रपति दिल्मा रुसेफको सट्टा काम चलाउनमात्र कुर्सीमा आसीन भएको, राष्ट्रपतिको पदभार ग्रहण गरेको केही समय भित्रै प्रत्यक्ष वा परोक्ष रुपमा ठूला ठूला आर्थिक भ्रष्टाचारका काण्डमा मुछिएका हुन् ।

मुलुकमा आर्थिक सुधार र बृद्धि गर्ने बहानामा भ्रष्टाचारका यस्ता काण्डहरुलाई ढाकछोपगरी ओझेलमा पार्न र आफू ब्राजिलको सत्तामा टिकिरहने प्रयास गरेको भन्ने आरोप बिपक्षीहरुले लगाएका छन् ।

अझै ठूलो संख्यामा बिशाल जन प्रदर्शन हुने, कम्तीमा ३५ हजार जनताको जुलूसले घेराउ र नाराबाजी गरी संसद भवन, राष्ट्रपतिको कार्यालय लगायत सबै मन्त्रालय ठप्प पारी राष्ट्रपति टेमरलाई राजिनामा दिन बाध्य पार्ने योजना रहेको बिपक्षीहरुले दावी गरेका छन् ।

राष्ट्रपति टेमरले राजिनामा दिएमा ब्राजिलको संबिधानअनुसार संसदले मध्यावधि निर्वाचन गरी अर्को राष्ट्रपति चयन गर्नु पर्नेछ । रासस /एपी