६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


दोस्रो चरणको स्थानीय निर्वाचनको ‘तयारी पूरा’, ९० हजार बढी कर्मचारी खटाइने


0
Shares

दोस्रो चरणमा प्रदेश नम्बर–१, २, ५ र ७ अन्तर्गत् ४१ जिल्लाका ४६१ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

जेठ ६ गतेदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालयहरु खडा गरेको निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सबै तयारी लगभग सकिएको जनाएको हो ।

आयोगले भोलि (सोमबार)देखि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय पनि सन्चालन हुने जनाएको छ ।

४६१ स्थानीय तहमा मतदाता नामावली, मतदाता परिचयपत्र, निर्वाचन बन्दोबस्तीका सामग्री र सुरक्षाकर्मीहरु पुगिसकेको जानकारी आयोगका सचिव गोपीनाथ मैनालीले दिए ।

मतदाता शिक्षा कार्यक्रम जारी रहेको भन्दै आयोगले दोस्रो चरणको निर्वाचनमा स्वतिक छापको मसी रातो बनाउने काम भइरहेको जनाएको छ ।

दोस्रो चरणको निर्वाचनका लागि जेठ १९ गते उम्मेदवारहरुको मनोनयन दर्ता र २२ गते चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।

यस्तै, जेठ २७ देखि ३० गतेसम्म मतदाता परिचयपत्र वितरण गर्ने र सोक्रममा मतदाता शिक्षा दिइने जनाइएको छ ।

निर्वाचनका लागि ६ हजार ७ सय १८ मतदानस्थल र ११ हजार ९ सय ३१ मतदान केन्द्र तोकिएका छन् । दोस्रो चरणको निर्वाचनमा ९० हजारभन्दा बढी कर्मचारी खटाइने भएको छ ।

दोस्रो चरणका लागि ९० लाख ९८ हजार ४ सय ८१ मतदाता रहेका छन् भने १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउँपालिकामा निर्वाचन हुनेछ । जसबाट २१ हजार ५ सय ५२ प्रतिनिधि निर्वाचित हुनेछन् ।