६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


भरतपुरमा छानबिन टोलीद्वारा दलका प्रमुखसँग छट्टाछुट्टै छलफल


0
Shares

आयोगले सहन्यायधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो ।

सोमबार नै यहाँ आएर काम थालेको सो टोलीले मंगलबार बिहान नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्तिका जिल्ला अध्यक्षसँग छलफल गरिसकेको छ ।

मजदुर किसान पार्टी, नेकपा मालेलगायतका साना दलका प्रमुखसँग पालैपालो छलफल भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।

नेपाली कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठकाअनुसार टोलीले घटनाका सम्बन्धमा प्रत्यक्ष्यदर्शीसँग भएका व्यहोरा बताउन भनेको थियो ।

साथै, सो घटनालाई सहजीकरण गर्ने सम्बन्धमा पनि जानकारी लिएको उनले बताए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले विगतका नजिर बिग्रनेगरी पुनःमतदान गर्नुभन्दा सबै मतपत्र संकलन गरी मतगणना गर्न सुझाव दिएको बताए ।

टोलीका पदाधिकारीसहित प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरीका क्षेत्रीय प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश केसी, भरतपुरस्थित श्री दि फेमस महेन्द्रदल गणका गणपति सुरेन्द्र सापकोटा, आयोगको टोलीमा आएका सहजकर्ता उपसचिव कृष्ण अधिकारीसहितको रोहोवरमा दलका प्रतिनिधिसँग पालैपालो घटनाका विषयमा जानकारी लिन छलफल भइरहेको छ ।

सो टोलीको दलका प्रमुखसँगको छलफलपछि मंगलबारै घटनास्थलको स्थलगत अध्ययन गरी फर्कने कार्यक्रम छ ।

बुधबार निर्वाचन आयोगलाई टोलीले दिने प्रतिवेदनको आधारमा आयोगले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका–१९ को पुनः मतदान गर्ने वा मतगणना सुरु गर्ने विषयमा निर्णय लिनेछ ।

आयोगले सोमबार टोली गठन गरेसँगै तत्काल टोली यहाँ आएर साँझ नै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुखलगायत गणनामा सहभागी कर्मचारीसँग पनि छलफल गरेको थियो ।

आइतबार राति ११ः४४ बजेको समयमा मतगणना हुँदै गर्दा मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादीका दुई प्रतिािधिलाई नियन्त्रणमा लिएको छ ।

मतपत्र माओवादीका प्रतिनिधिले च्यातेको एमालेको आरोप छ भने माओवादीले एमालेका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि रोक्नेक्रममा मतपत्र च्यातिएको विज्ञप्तिमार्फत् जनाएको छ ।

माओवादी र कांग्रेसले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका–१९ को मतदान पुनः गर्नुपर्ने माग गरेका छन् भने एमालेले च्यातिएको मतपत्र बदर गरी बाँकी मतपत्र गणना गर्नुपर्ने जनाएको छ ।

दलका प्रतिनिधिले मतगणनास्थलको ढोकामा बसेर मतपत्रको सुरक्षा दिइरहेका छन् ।

भरतपुर महानगरपालिका–१९ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको थियो । अब वडा नम्बर–२० कोमात्र मतगणना बाँकी छ ।

महानगरपालिकामा प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा ७३३ मतले अगाडि रहेका छन् । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको थियो ।

यसैबीच, एमालेले मंगलबार बिहान नारायणगढबाट सुरु गरेको विरोधर्‍याली मतगणनास्थलबाहिर आएर धर्नामा परिणत भएको छ ।

तत्काल मतगणनाको माग गर्दै एमालेले विरोधस्वरुप धर्ना कार्यक्रमको आयोजना गरेको हो । रासस