२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बहुमतीय सरकार गठनको प्रक्रिया यस्तो छ, कसको पक्षमा कति सांसद ?


0
Shares

                                                                                    फाइल फोटो
दलहरुको आग्रहमा सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले समय थप्नसक्ने व्यवस्था भएपनि त्यस्तो सम्भावना नरहेकाले अब बहुमतीय प्रक्रियाबाटै सरकार गठन हुने निश्चितजस्तै बनेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गरेकी थिइन् । जसको समय बुधबारै मध्यरातदेखि सकिँदैछ ।

तोकिएको समयभित्र सहमतीय सरकार बन्न नसके संविधानको धारा २९८ को उपधारा (३) अनुसार संसदको तत्काल कायम रहेको संख्याको बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चुनिनेछ ।

राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समयसीमाभित्र दलहरुले सहमतीय आधारमै सरकार गठनका लागि कुनै ठोस प्रयास गरेनन् ।

अब दलहरुले सहमतीय सरकार गठनको प्रयास गर्ने भन्दै थप समय पाउन आग्रह गर्ने सम्भावना देखिँदैन । यस्तोमा अब राष्ट्रपतिले पत्र पठाएसँगै व्यवस्थापिका–संसदले बहुमतीय प्रणालीबाट सरकार गठनको प्रयास थाल्नेछ ।

अहिलेसम्मको घटनाक्रमलाई आधार मान्ने हो भने सत्ता गठबन्धन यथावत् रहने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने निश्चितजस्तै छ ।

अहिलेकै सत्ता गठबन्धनबाट देउवा प्रधानमन्त्री बन्ने अवस्था देखिन्छ । राप्रपा र संघीय समाजवादी फोरमलाईसमेत सरकारमा सहभागी गराउन प्रयास हुने कांग्रेस र माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले बहुमतीय प्रक्रियामा के गर्ने भनेर पार्टीले निर्णय गरिनसकेको भएपनि जिम्मेवार प्रतिपक्ष भएर काम गर्ने र आगामी प्रतिनिधिसभाको चुनावबाट शक्तिशाली सरकार बनाउने योजनाका साथ लाग्ने बुधबार हामीसित बताए ।

हाल सांसदको संख्या ५९३ छ । कांग्रेस र माओवादी गठबन्धनको पक्षमा कांग्रेसको २०७, माओवादी केन्द्रको ८१, राप्रपाको ३७, राष्ट्रिय जनता पार्टी नेपालको २५, संघीय समाजवादी फोरमको १५, फोरम लोकतान्त्रिकको १४, नेकपा संयुक्तको ३ र बाँकी साना दलको १० गरी ३९१ जना सांसद रहेको कांग्रेस–माओवादी केन्द्रका नेताहरुको दाबी छ ।

यद्यपि, राप्रपा, राजपा र संघीय फोरमले स्पस्टरुपमा समर्थन गरेको अवस्था छैन ।

राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनको मागमा अहिलेको गठबन्धनले विश्वास दिलाए उचित निर्णय गरिने संकेत गरेको छ । राजपा नेता महेन्द्रराय यादवले सरकारभन्दा मुद्दा आफूहरुको प्राथमिकतामा रहेको बताए ।

विपक्षी गठबन्धनमा एमाले १८१, नेकपा माले ५, नेमकिपा ४, जनमोर्चा ३, परिवार दल २ , नेपा पार्टी, बहुजन शक्ति र मधेस समताका १/१ गरी १९८ जना सांसद रहेको देखिन्छ । संसदमा सरकार गठनको प्रक्रिया सुरु भएसँगै धेरैको ध्यान त्यतातिर जानेछ ।

सरसर्ती हेर्दा वर्तमान सत्ता गठबन्धनकै निरन्तरतामा कांग्रेस नेतृत्वमा आगामी साता मुलुकले नयाँ सरकार पाउनेछ ।

यद्यपि, त्यस सरकारमा प्रत्यक्ष सहभागिता कुन–कुन दलको रहनेछ र बाहिरबाट समर्थन गर्ने एवं विपक्षी बेन्चमा को–को हुनेछन् भन्ने स्पस्ट हुन भने अझै केही दिन लाग्नेछ ।