६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


काठमाडौंमा नगर कार्यपालिका निर्वाचन प्रक्रिया सुरु, शंखरापुरमा एमाले विजयी


0
Shares

शंखरापुर नगरपालिकामा बुधबार भएको ८ सदस्यीय कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेको समूह विजयी भएको छ ।

एमालेले २५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलको गठबन्धनले २० मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले राससलाई जानकारी दिए ।

यसअघि, नगर सदस्यमा निर्वाचित महिलामध्येबाट नगर कार्यपालिका सदस्यको निर्वाचन गरिएको थियो ।

पाँच महिला सदस्यमा ज्ञानु श्रेष्ठ, सुनिता घ्लान, बुद्धिमाया तामाङ, ज्ञानकुमारी पोखरेल र उमादेवी कार्की निर्वाचित भएका छन् ।

यसैगरी, दलित वा अल्पसंख्यकमा आनन्द सार्की, भक्तबहादुर कामी र अनिल परियार निर्वाचित भएका छन् ।

नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख र वडाध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । महिला पाँच र दलित वा अल्पसंख्यक तीनमा नगरमा निर्वाचित सदस्यमध्येबाट उम्मेदवार हुने र मत दिने व्यवस्था गरिएको छ ।

दक्षिणकाली नगरपालिकामा बिहीबार नगर कार्यपालिकाको निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको निर्वाचन अधिकृत प्रतिमा पोखरेलले बताइन् ।

९ ओटा वडा रहेको नगरपालिकामा बुधबारको मनोनयनमै निर्विरोध भएको हो । वडा नम्बर–७ बाट दलित महिला वडासदस्यको उम्मेदवारी नपरेकाले नगरमा ४६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

निर्वाचितमा कांग्रेस र एमालेका २३/२३ सदस्य रहेकाले कार्यपालिका सदस्यमा दुबै दलले सहमति गरेर चार/चार पदमा उम्मेदवारी दिएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

नागार्जुन नगरपालिकामा जेठ १९ गते, गोकर्णेश्वर र तारकेश्वर नगरपालिकामा जेठ २० गते, कीर्तिपुर, कागेश्वरी मनोहरा, बूढानीलकन्ठ, चन्द्रागिरि र टोखा नगरपालिकामा जेठ २२ गते नगर कार्यपालिकाको निर्वाचन तोकिएको छ । रासस