
संसद सचिवालयले शनिबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने समय तोकेको थियो ।
सो अवधिमा सभापति देउवाको एकल उम्मेदवारी परेपनि मतदान प्रक्रिया भने अगाडि बढाउनुपर्ने संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए ।
उनकाअनुसार आइतबारका लागि प्रधानमन्त्री पदको उम्मेदवारको समर्थक र प्रस्तावकले आफ्नो धारणा राख्ने र मतदान गर्ने गरी कार्यसूची तय गरिएको छ ।
व्यवस्थापिका–संसद कार्यसन्चालन नियमावलीअनुसार एकजनाकोमात्रै उम्मेदवारी परेपनि निर्वाचन प्रक्रिया पूरा गर्नुपर्नेछ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदले तोकेको समयमा उम्मेदवारी दर्ता गराएन ।
प्रधानमन्त्रीमा देउवा निर्वाचित हुन संसदमा हाल कायम ५९३ सदस्य संख्याको बहुमत अर्थात् २९७ मत आवश्यक पर्छ ।
देउवाको उम्मेदवारीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक तथा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेव जोशी, अखन्ड पार्टीकाकुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह समर्थक छन् ।
दाहालले गत जेठ १० गते राजीनामा दिएपछि मुलुकको नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुन लागेको हो ।
सहमतीय सरकार गठन गर्न असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गत बुधबार बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित गर्न संसदलाई पत्राचार गरेकी थिइन् ।
नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको भद्र सहमतिका आधारमा देउवा प्रधानमन्त्री बन्न लागेका हुन् । रासस
प्रतिक्रिया दिनुहोस्