२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


प्रधानमन्त्री चयनका लागि हुने निर्वाचन अनिश्चित, एमालेले संसद अवरोध कायमै राख्ने


0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार संसद् सचिवालयले प्रधानमन्त्री चयन प्रक्रिया शुरु गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा अवरोध जारी राख्ने भएपछि प्रधानमन्त्री चयन अनिश्चित बनेको हो ।

मुलुकको ४० औं प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । संसद् सचिवालयले प्रधानमन्त्री चयनका लागि मतदान गर्ने कार्यतालिका आजका लागि राखे पनि एमालेको अवरोध नहट्ने संकेत देखिएपछि प्रक्रिया कसरी अगाडि बढाउने भन्नेमा सभामुख ओनसरी घर्ती अन्योलमा परेकी छन् ।

एमालेले चितवनको भरतपुर महानगरपालिकाको मतगणना शुरु हुनुपर्ने माग गर्दै संसद् बैठक अबरुद्ध गर्दै आएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठकअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर सहमति खोज्ने प्रयास गरेकी छन् ।

बैठकमा सहमति जुट्न नसकेमा सभामुखसमक्ष तीन वटा विकल्प हुने छन् । सभामुख घर्तीसँग अवरोधका बीच प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउने, बैठक अवरोध गर्ने सांसदलाई मार्सल लगाएर बैठकस्थलबाट बाहिर निकाल्ने वा बैठक सार्ने विकल्प छन् ।

प्रधानमन्त्रीका लागि एक जनाको मात्र उम्मेदवारी परे पनि संसदीय नियमअनुसार संसद्मा मतदान गर्नैपर्छ । मतदानमा उम्मेदवारले बहुमत सिद्ध गर्नुपर्छ ।

सभापति देउवाका पक्षमा अहिलेसम्म ३ सय ११ जना सांसदको समर्थन रहेको कांग्रेसले जनाएको छ । संसद्मा अहिले कायम रहेको ५ सय ९३ को बहुमत पुर्‍याउन २ सय ९७ जना सांसदको समर्थन आवश्यक पर्छ ।