
व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्दै उनले आफूले गणतन्त्रयता नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरिसकेको र हाल कांग्रेसका सभापति देउवालाई बहालवाला प्रधानमन्त्रीका हैसियतले नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गर्न पाउनुले राष्ट्रिय एकता र समझदारीको आवश्यकताको परिणाम भएको बताए ।
प्रधानमन्त्री दाहालले मुलुकलाई समाजवादको आधार तय गर्न आर्थिक सामाजिक रुपान्तरणमा जान सकिएमा नेपाललाई छिट्टै विकासको मार्गमा लान सकिने बताउँदै आफूले छिमेकी भारत र चीनका प्रधानमन्त्री र राष्ट्रपतिसँग–सँगै बसेर नेपालको विकासबारे कुरा गर्ने मौका मिलेको स्मरण गरे ।
उनले भने–‘कांग्रेसले मलाई गुण लगायो, मैले पनि तिरें, भोलिका दिनमा एमालेका अरू नेतालाई पनि प्रधानमन्त्रीमा प्रस्ताव गर्न पाऊँ, राष्ट्रको बृहत्तर हितका सन्दर्भमा सबै मिल्नुपर्छ ।’
सभापति देउवाले व्यक्त गरेका प्राथमिकता र प्रतिबद्धतामा सफलता मिलोस् भन्ने शुभकामना दिँदै प्रधानमन्त्री दाहालले ‘नयाँ परिस्थितिमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्न लागेको हो, विगतमा राजाले फाल्ने र ल्याउने गरी देउवा प्रधानमन्त्री बन्न खोजेको अवस्था होइन, मेरो शुभकामना छ, उहाँको कार्यकाल पूर्ण सफल होस्’–भने । रासस
प्रतिक्रिया दिनुहोस्