२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


देउवा प्रधानमन्त्रीमा निर्वाचित, पक्षमा ३८८, विपक्षमा १७० मत, शपथग्रहण भोलि


0
Shares

व्यवस्थापिका–संसदमा मंगलबार साँझ सम्पन्न निर्वाचनबाट देउवा प्रधानमन्त्रीमा चयन भएका हुन् । उनी नेपालको ४०औं प्रधानमन्त्री बनेका हुन् ।

चौथोपटक प्रधानमन्त्री बन्नेक्रममा देउवाको पक्षमा कुल ३८८ सांसदको मत परेको छ भने उनको विपक्षमा १७० मत परेको छ । हाल संसदमा ५९३ सदस्य रहेकोमा प्रधानमन्त्री चयनको निर्वाचनमा ५५८ मत खसेको थियो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरमलगायतका दलहरु तथा केही स्वतन्त्र सांसदहरुको मत देउवालाई परेको छ ।

देउवाको विपक्षमा भने नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका पार्टीका सांसदहरुले भोट हालेका थिए ।

यसअघि, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले देउवालाई प्रधानमन्त्रीमा चयन गर्न प्रस्ताव गरेका थिए भने वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गरेका थिए ।

नवनिर्वाचित प्रधानमन्त्री देउवाको शपथग्रहण बुधबार (भोलि) दिउँसो हुने तय भएको छ भने देउवाले बुधबारै नै पदभारग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाले बुधबारै नै सानो मन्त्रिपरिषदसमेत बनाउने जनाइएको छ ।