३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


दार्जिलिङमा भाषा विवाद उग्र बन्दै, सेना तैनाथ


0
Shares

पश्चिम बंगाल राज्य सरकारले राज्यका सबै विद्यालयमा बंगला भाषाको पठनपाठन अनिवार्य गरेपछि दार्जिलिङका नेपालीभाषी आन्दोलनमा उत्रिएका थिए । दार्जिलिङको राजभवनमा राज्य सरकारको बैठक चलिरहेकै बेला आन्दोलन चर्किएपछि प्रदर्शन रोक्न र परिस्थिति तनावपूर्ण हुन नदिन सरकारले सेना तैनाथ गरेको छ ।

परिस्थितिको गाम्भीर्यतालाई ख्यालगरी एक टुकडी सेना तैनाथ गरिएको दार्जिलिङ प्रहरीले जनाएको छ । गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच बिहीबार दिनभर झडप भएको थियो ।

प्रदर्शनकारी र सुरक्षाकर्मीहरु घाइते हुनुका साथै प्रदर्शनकारीले चारवटा प्रहरी भ्यान र सार्वजनिक यातायातको साधनमा तोडफोड तथा आगजनी भएको थियो । करिब ४५ वर्षपछि पहिलोपटक दार्जिलिङमा राज्य क्याविनेटको बैठक आयोजना गरिएकै बेला प्रदर्शनकारीले मूख्यमन्त्री ममता बनर्जीविरुद्ध नाराबाजी गरेका थिए ।

गोर्खाल्याण्ड टेरोटेरियल एड्मििनिष्ट्रेसन प्रशासनको अनुमति बिनै बैठक आयोजना गरिएको भन्दै मोर्चाका अध्यक्ष तथा जिटिएका प्रमुख कार्यकारी बिमल गुरुङले भर्त्सना समेत गरेका छन् ।

प्रदर्शनमा सुरक्षाकर्मीले ज्यादती गरेको भन्दै मोर्चाले १२ घण्टे चक्काजाम आह्वान गरेको छ । यसबाट दार्जिलिङसहित मिरिक, कालिम्पोङ, खरसाङलगायतका नेपालीभाषी बाहुल्य शहर सुनसान बनेका छन् ।

यातायातका साधन, उद्योगधन्दा, स्कुल, कलेज, व्यापार व्यवसाय सबै ठप्प छन् ।

यता, राज्य सरकारले भने जीटीएको प्रमुख सचिव रविइन्दर सिंहको स्थानमा वरूण रोयलाई नियुक्त गरेको छ । (एजेन्सी)