
कांग्रेस जिल्ला समितिले टुंगो लगाउन नसकेपछि केन्द्रीय समितिले बिहीबार साँझ दुई नगरपालिका र ८ गाउँपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो लगाएको हो ।
नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालले उम्मेदवारको टुंगो लगाइसकेको केही समयपछि कांग्रेसको उम्मेदवारी टुंगिएको हो ।
कांग्रेसले रुपाकोट–मझुवागढी नगरपालिकाको प्रमुखमा राजनसेर राई र उपप्रमुखमा कान्तादेवी बस्नेत, हलेसी–तुवाचुङ नगरपालिकाको प्रमुखमा ईवन राई र उपप्रमुखमा विमला राईलाई टिकट दिएको छ ।
यस्तै, लामीडाँडा गाउँपालिकाको प्रमुखमा जनक कार्की र उपप्रमुखमा शोभा पाण्डे, साकेला गाउँपालिका प्रमुखमा ईच्छुराम राना र उपप्रमुखमा सरिता खड्का, जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा खेमबहादुर खड्का र उपप्रमुखमा अनिता राईलाई उठाउने निर्णय भएको कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले बताए ।
यस्तै, केपीलासगढी गाउँपालिकाको प्रमुखमा समिर राई, दिप्रुङ गाउँपालिका प्रमुखमा भूपेन्द्र राई र बराहपोखरी गाउँपालिकाको प्रमुखमा शालिकराम बञ्जरालाई उठाउने निर्णय भएको जनाइएको छ ।
केपीलासगढी, दिप्रुङ र बराहपोखरी गाउँपालिकाको उपप्रमुखको नाम भने बाहिर आउन सकेको छैन ।
खोटेहाङ गाउँपालिका प्रमुखमा प्रेमकुमार राई र उपप्रमुखमा उषाकला राई, ऐसेलुखर्क गाउँपालिका प्रमुखमा विश्वनाथ निरौला र उपप्रमुखमा शान्ति राईले कांग्रेसबाट टिकट पाएका छन् । खोटेहाङ र ऐसेलुखर्क गाउँपालिकाको उम्मेदवार भने जिल्लामै सर्वसम्मत् टुंग्याइएको थियो ।
उम्मेदवारको टुंगो लगाइसकेका एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र नयाँ शक्ति भने चुनावी अभियानमा लागिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्