२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


प्रधानमन्त्री देउवालाई यस्तो छ सांसदहरुको सुझाव (भिडियोसहित)


0
Shares

विपक्षी दलले सहमतिको राजनीतिलाई ध्यान दिन भनेको छ भने मधेसकेन्द्रित दलहरुले निर्वाचनअघि संविधान संशोधनमै जोड दिएका छन् ।

शुक्रबारको संसद बैठकमा नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना दिने कार्यक्रम राखिएको थियो ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले प्रधानमन्त्री देउवालाई निर्वाचनलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् ।

विगतको अनुभवबाट सिकेर मुलुकलाई एकताबद्ध ढंगबाट निर्वाचनमा लाने वातावरण बनाउन विभिन्न दलका नेताहरुले जोड दिए ।

प्रमुख विपक्षी दलका उपनेता सुवासचन्द्र नेवाङले सहमतीय राजनीतिमा जोड दिए । राजनीतिक दलहरुको सहमतिबिना संविधान कार्यान्वयन र संविधानको सर्वस्वीकार्यता दुबै सम्भव नभएको भन्दै उनले नयाँ सरकारले त्यसलाई प्राथमितामा राखेर जानुपर्ने धारणा राखे ।

सत्तारुढ दलका नेताहरुले भने संविधान संशोधनमा जोड दिँदै सबैलाई निर्वाचनमा सहभागी हुने वातावरण बनाउनु पर्नेमा सुझाव दिएका थिए । यद्यपि, प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनअघि संशोधन सम्भव नभएको बताइसकेका छन् ।

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले संविधान संशोधनका लागि विपक्षी दल लचक भएर आउनुपर्ने धारणा राखिन् ।

माओवादी केन्द्रका नेता अग्नि सापकोटाले पनि सरकार गठनकै समयमा दुई तिहाइ मत पुग्न लागेको भन्दै अब संविधान संशोधन गरेर जानुपर्ने धारणा राखे ।

यस्तै, राजपा तथा संघीय समाजवादी फोरमका नेताहरुले संविधान संशोधनसहित तराई–मधेसमा उठेको मुद्दालाई प्राथमिकतामा राखेर काम गर्न प्रधानमन्त्री देउवालाई भनेका छन् । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्