Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


राष्ट्रिय पहिचान गुमाउने कुरा मान्य हुँदैनः अध्यक्ष ओली


0
Shares

पार्टीको केन्द्रीय कार्यालय धूम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने -“कुनै पनि नेपाली जातिको मातृभाषा नभएको हिन्दीलाई तराई/मधेसमा मान्यता दिइए त्यहीँका मातृभाषा मैथिली, भोजपुरी र अवधिकोे भविष्य समाप्त हुन सक्छ ।”

अध्यक्ष ओलीले भने-“प्रदेशस्तरमा धेरै बोलिने एक दुई भाषालाई काम काजको भाषा बनाउन सकिन्छ तर केही क्षेत्रमा बोलिने भाषालाई राष्ट्रिय मान्यता दिन सकिँदैन, भाषा आयोगको सिफारिसमा संविधानको अनुसूचीमा व्यवस्था गरी प्रदेशमा धेरै बोलिने भाषालाई मान्यता दिन सकिन्छ ।”

एमाले व्यवस्थापिका- संसद्मा प्रतिपक्षमा भए पनि स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सत्ता पक्ष बनेको उल्लेख गर्दै उनले स्थानीय तहको अहिलेसम्मको परिणाम अनुसार पहिलो शक्ति भएकाले सत्ता पक्षले ल्याउने राम्रा प्रस्तावलाई सकारात्मक रुपमा सहयोग गरिने बताए ।

अध्यक्ष ओलीले जनताका समस्या समाधान र गरिबी हटाउन एमालेले काम गरेकाले अन्य दल डराउने गरेको बताउँदै प्रदेश नं-२ मा एमालेको सरकार बनोस् भन्ने त्यहाँका जनताको जनमत रहेको दाबी पनि गरे ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी परित्याग गरी एमाले प्रवेश गरेका महासचिव प्रद्युम्ननारायण यादव र प्रवक्ता लक्ष्मीप्रसाद ओली एवम् नाट्यकर्मी रमेशरञ्जन झालाई पनि अध्यक्ष ओली लगायतका शीर्षस्थ नेताले स्वागत गरेका थिए । रासस