
-युवराज रोइला/ईमेज
अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकले पाँच महिनाको अवधिमा मानव अधिकार उल्लंघनका २९ वटा घटना घटेकामा १३ वटा मुद्धा महिला हिंसासँग सम्वन्धित भएको तथ्यांक सार्वजनिक गरेको छ ।
गत जनवरीदेखि हालसम्म जिल्लामा घरेलु हिंसा सम्बन्धी ३ वटा, बहुबिवाह सम्बन्धीका १ वटा र कुटपिट, गालीगलौज लगायतका महिला हिंसा सम्बन्धी ९ वटा घट्ना घटेको ईन्सेककी प्रतिनिधि सुनिता मगरले बताइन ।
पाँच महिनाको अवधिमा महिला बलात्कारका १ वटा, बलात्कार प्रयासका १ वटा, बालिका बलात्कारका १ वटा, बालिका बलात्कार प्रयासका १ वटा र महिलामाथिको यौन दुव्र्यवहारका १ वटा घटना घटेको तथ्यांक सार्वजनिक भएको छ ।
यस अवधिमा एक बालिकालाई बेपत्ता पारिएको ईन्सेकले जनाएको छ । ईन्सेकका अनुशार पछिल्लो समय राजनैतिक दलका कार्याकर्ताबाट भएको कुटपिटका घट्नामा पनि बृद्धि भएको पाइएको छ ।
स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारकैक्रममा राजनैतिक कार्यकर्ताबाट कुटपिटका चार वटा घटना घटेको ईन्सेक प्रतिनिधि मगरले बताइन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले दुरदराजमा घटेका मानव अधिकार उल्लंघन सम्बन्धी घट्नाका विषयमा ध्यान पुर्याउन आग्रह गरे ।
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलका प्रमुख मोहन जोशीले नागरिक तथा राजनैतिक अधिकारलाई मात्र नभै आर्थिक, सामाजिक र भौतिक बिकासलाई समेत मानव अधिकारकारुपमा हेर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्