७ असार २०८२, शनिबार | Sat Jun 21 2025


सप्तरीमा चुनावी रौनक: चुनाव हुन्छ की हुँदैन भन्नेमै मत बाझियो


0
Shares

-शिवहरी भट्टराई/ईमेज

सप्तरी जिल्ला निर्वाचन कार्यालय भने निर्वाचनको तयारीमा छ । आमनागरिक भने चुनाव हुने वा नहुने भन्नेमा अन्योलमा देखिन्छन् ।

राष्ट्रिय जनता पार्टी नेपाल स्थानीय चुनाव हुनै नदिने भन्दै आमहड्तालमा उत्रिएको छ । जसको प्रभाव तराईका जिल्लाहरुमा प्रत्यक्ष रुपमा परेको छ ।

गर्मीसँगै तराई तातिरहँदा राजपा नेताहरु भने कुनै हालतमा पनि निर्वाचन हुन नदिने अडानका साथ सडकमा उत्रिएका छन् ।

राजपा नेताहरुले संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारणलगायतका माग पुरा नगरेसम्म स्थानीय निर्वाचन हुनै नदिने बताउँदै आएका छन् ।

उनीहरु मधेसप्रति सदैव वेईमानी गरेर सरकारले धोका दिएको आरोप लगाउँछन् ।

राजपाका नेता मनिषकुमार सुमनले सरकार गठन गर्ने बेलामा विभिन्न आश्वासन दिएर आफूहरुसँग सम्झौतासमेत गरी मत लिने तर प्रधानमन्त्री भइसकेपछि कुरा फेर्ने दोहोरो चरित्रका कारण समस्या सिर्जना भएको बताए ।

अर्का मधेसी नेता जयप्रकाश ठाकुले पनि अब उधारोमा कुनै सम्झौता नहुने भन्दै संविधान संशोधन गरेर मधेसी जनताका माग पुरा गरेपछि मात्र स्थानीय चुनाव हुने बताउँछन् ।

जिल्ला निर्वाचन कार्यालयले भने निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी भइसकेको जनाएको छ ।

मतदाता शिक्षादेखि निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण दिने कामसमेत अन्तिम चरणमा पुगेकाले कुनै हालतमा निर्वाचन भईछाड्ने निर्वाचन कार्यालय सप्तरीका प्रमुख महेशकुमार ठाकुर बताउँछन् ।

निर्वाचन गराइछाड्ने सरकारी प्रतिबद्धता र हुनै नदिने राजपाको अडानले आममतदाता भने अन्योलमा परेका छन् । सबै पक्षलाई मिलाएर तोकिएकै मिति असार १४ गते निर्वाचन गराउनुपर्नेमा मतदाताको जोड छ ।

सप्तरीमा ९ नगरपालिका र ८ गाउँपालिका गरी १७ स्थानीय तह छन् । ती स्थानीय तहमा जम्मा ३ लाख ३१ हजार ४ सय ६२ मतदाता छन् ।

सप्तरीमा ४ सय ६१ मतदान केन्द्र र २ सय ५२ मतदान स्थल निर्धारण गरिएको छ ।