२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


डोल्पाको जुफाल विमानस्थल आजदेखि बन्द


0
Shares

आजदेखि विमानस्थल कालोपत्रको काम सुरु गरिएपछि जुफाल विमानस्थल बन्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणको रु ९ करोड ८१ लाख रकममा स्तरोन्नति हुन लागेको उक्त विमानस्थलको कालोपत्र गर्न मात्रै झन्डै दुई महिना लाग्ने अनुमान भएपनि काम सुरु गर्दा यसै भन्न नसकिने आयोजना प्रमुख वीरप्रसाद शाहीले जानकारी दिए ।

विमानस्थल कालोपत्र भएको केही दिनमै सञ्चालनमा ल्याउन सकिने आयोजना प्रमुख शाहीको भनाइ छ ।

भौगोलिक विकटताका कारण भनेको समयमा सामान ढुवानीका लागि हेलीकोप्टर नपाइने, कहिले मौसमले साथ नदिने, कहिले कामदार नपाउने जस्ता यावत समस्याले विमानस्थल स्तरोन्नति कार्य अवरुद्ध हुँदै आएको आयोजना प्रमुख शाहीको भनाइ छ ।

जुफाल विमानस्थलको कालोपत्र गर्ने कार्य सम्पन्न नहुन्जेलसम्म त्रिपुरासुन्दरी नगरपालिकास्थित पहाडामा पर्ने मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याइएपछि बिरामी पर्यटकलाईसमेत आवतजावत गर्न सहज हुने भएको छ । जुफाल विमानस्थल कालोपत्र भएपछि डोल्पालीलाई जिल्लाबाहिर जान तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि सहज हुने बताइएको छ । (रासस)